
पोखरा, भदौ ३ गते
भारतीय स्थलसेनाका प्रमुख जनरल धिरज सेठले भारतीय भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारका लागि स्वास्थ्य, यातायात र व्यावसायिक तालिमलगायतका क्षेत्रमा थप कल्याणकारी योजना अघि बढाइने बताएका छन्।
भारतीय दूतावासअन्तर्गत पोखरास्थित पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित विशेष कार्यक्रममा बोल्दै सेनाप्रमुख सेठले पूर्वगोर्खा सैनिकलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउन भारतीय सेना प्रतिबद्ध रहेको बताए। उनले कुनै समस्या परेमा आफूहरूलाई कहिल्यै एक्लो नसम्झन पनि पूर्वसैनिक तथा परिवारलाई आग्रह गरे।
पूर्वगोर्खा सैनिकहरूले भारतीय सेनामा पु¥याएको योगदानको प्रशंसा गर्दै सेठले उनीहरूका अगाडि आफ्ना कुरा राख्न पाउनु गौरवको क्षण भएको बताए। “जसले आफ्नो जवानी भारतीय सेनाका लागि समर्पित गरे, ती वीर सैनिकहरूबिना नेपाल–भारत सम्बन्ध आजको अवस्थामा पुग्न कठिन हुन्थ्यो,” उनले भने।

कार्यक्रममा भारतीय सेनामा रहेर कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका धर्मपत्नीलाई ‘वीर नारी’का रूपमा सम्मान गरिएको थियो। सेनाप्रमुख सेठकी धर्मपत्नी कोमल सेठले १० जना वीर नारीलाई उपहारसहित सम्मान गरिन्।
त्यस्तै, सेनाप्रमुख सेठले नौ जना पूर्वगोर्खा सैनिकलाई ‘योद्धा सेवा सम्मान’ प्रदान गरे। भारतीय सेनामा कार्यरत रहँदा विभिन्न अपरेसनका क्रममा घाइते वा अंगभंग भएका आठ जना पूर्वसैनिकलाई जीवन सहज बनाउन ‘मोडिफाइड स्कुटर’ प्रदान गरिएको थियो। भारतीय सेनामा रहँदा बहादुरी प्रदर्शन गरी भारत सरकारबाट विभिन्न वीरता पदक प्राप्त गरेका १० जना पूर्वसैनिकलाई समेत सल ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्वसैनिक तथा उनीहरूका परिवारको उल्लेखनीय सहभागिता थियो। सो अवसरमा सेनाप्रमुख सेठले पश्चिम नेपालका पूर्वसैनिक तथा परिवारलाई स्वास्थ्य उपचारका लागि काठमाडौं वा पोखरा धाउनुपर्ने बाध्यता अन्त्य गर्न कोहलपुरमा नयाँ ईआईएचएस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिए।
“पोखरालगायत अन्य पोलिक्लिनिकमा पनि आधुनिक चिकित्सा उपकरण थप गर्ने प्रक्रिया सुरु गरिएको छ,” उनले भने।
पूर्वसैनिकको मागअनुसार सुनौलीदेखि गोरखपुरसम्म बस सेवा सञ्चालन गर्ने प्रस्तावसमेत आएको जानकारी दिँदै उनले यसबारे छिट्टै निर्णय गरिने बताए। बस सेवा सञ्चालन भए क्यान्टिन तथा स्वास्थ्य सेवा लिन सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने पूर्वसैनिकलाई सहज हुने अपेक्षा गरिएको छ।
नेपालका विभिन्न जिल्ला सैनिक बोर्डमार्फत सञ्चालन भइरहेका कम्प्युटर, ब्युटिसियन र फेसन डिजाइनिङलगायत व्यावसायिक तालिमका प्रमाणपत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सिक्किमस्थित मेधावी स्किल युनिभर्सिटीसँग सम्झौता गरिएको पनि उनले जानकारी दिए।
नेपाल–भारत सम्बन्ध भौगोलिक सीमामा मात्र सीमित नभई ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक रूपमा समेत गहिरो रहेको उल्लेख गर्दै सेठले दुई देशबीचको सम्बन्ध सदियौँ पुरानो भएको बताए। भगवान् राम–सीताको सम्बन्ध, पशुपतिनाथ र काशीबीचको धार्मिक आस्था तथा खुला सीमाले दुई देशका नागरिकलाई थप नजिक बनाएको उनको भनाइ थियो।
बुधबार बिहान काठमाडौंँबाट हेलिकप्टरमार्फत पोखरा आएका भारतीय स्थलसेनाका प्रमुख सेठले कार्यक्रमपछि पूर्वगोर्खा सैनिक तथा उनीहरूका परिवारसँग सामूहिक भेटघाट गरी विभिन्न विषयमा जानकारी लिएका थिए। उनले पूर्वसैनिक, परिवार, नेपाल–भारत मैत्री विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सञ्चारकर्मीसँग सामूहिक तस्बिरसमेत खिचाएका थिए।
सेठलाई पोखरामा भारतीय दूतावास तथा पेन्सन वितरण कार्यालयका प्रमुख चित्तरञ्जन साहुलगायत पोखरास्थित नेपाली सेनाका सुरक्षा अधिकारीले स्वागत गरेका थिए। कार्यक्रम सम्पन्न गरी उनी बुधबार मध्याह्न काठमाडौं फर्किएका छन्।





