पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको बढ्दो चासो, ६ घण्टा लामो प्राविधिक निरीक्षणपछि दैनिक उडानको ढोका खुल्दै

-


     केन्द्रीय आवाज    
     जेठ २० गते २०८३ मा प्रकाशित


पोखरा, २० जेठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनतर्फ दीर्घ प्रतीक्षापछि उल्लेखनीय प्रगति भएको छ। संयुक्त अरब इमिरेट्सको प्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबई ले पोखराबाट सिधा उडान सञ्चालन गर्ने स्पष्ट संकेत दिएको छ।

कम्पनीका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा करिब ६ घण्टा लामो गहन स्थलगत निरीक्षण र प्राविधिक छलफल सम्पन्न गरेको हो। टोलीले धावनमार्ग, उडान सुरक्षा प्रणाली, नेभिगेसन प्रविधि तथा अन्य भौतिक पूर्वाधारको सूक्ष्म अध्ययन गर्दै अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक सम्पूर्ण मापदण्डहरूको मूल्याङ्कन गरेको जनाएको छ।

निरीक्षणपश्चात् टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सँग भेटघाट गरी आफ्नो प्रारम्भिक निष्कर्ष प्रस्तुत गरेको थियो। उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक तथा सुरक्षाका दृष्टिले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पूर्ण रूपमा सक्षम र सुरक्षित रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “हामीले ६ घण्टा लामो विस्तृत प्राविधिक निरीक्षण सम्पन्न गरेका छौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा तयार देखिएको छ, र हामी पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न इच्छुक छौँ।”

फ्लाई दुबई, विश्वप्रसिद्ध वायुसेवा कम्पनी इमिरेट्स को भगिनी कम्पनीका रूपमा परिचित छ। यस कम्पनीले पोखराबाट उडान सुरु गरेसँगै पोखरा सिधै इमिरेट्सको विश्वव्यापी सञ्जालसँग जोडिनेछ। यसले पोखरालाई विश्वका ३०० भन्दा बढी प्रमुख सहरसँग प्रत्यक्ष पहुँचमा पुर्‍याउने अपेक्षा गरिएको छ, जसबाट युरोप, अमेरिका र अफ्रिकाबाट आउने पर्यटकहरू दुबई हुँदै सहज रूपमा पोखरा पुग्न सक्नेछन्।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाई दुबईका उच्च अधिकारीहरू तथा नेपाली प्रतिनिधिहरूको सहभागितामा पटक–पटक उच्चस्तरीय समन्वय बैठकहरू सम्पन्न भइसकेका छन्।

लामो समयदेखिको निरन्तर पहल, प्राविधिक मूल्याङ्कन र सरोकारवालाबीचको सघन समन्वयपछि अब नियमित उडानको औपचारिक मिति सार्वजनिक गर्ने चरण नजिकिएको पोखरा महानगरले जनाएको छ।

महानगर प्रमुख आचार्यका अनुसार फ्लाई दुबईको सक्रिय चासो र हालसम्म भएको प्रगतिले पोखरेली जनता तथा पर्यटन व्यवसायीहरूमा नयाँ आशा र उत्साह थपेको छ। “पोखरालाई विश्व बजारसँग सिधा जोड्ने दिशामा यो ऐतिहासिक उपलब्धि सावित हुनेछ,” उहाँले उल्लेख गर्नुभयो।

प्रस्तावित उडान कार्यान्वयनमा आएपछि गण्डकी प्रदेशका नागरिकहरूले वैदेशिक रोजगारी, व्यापार तथा भ्रमणका लागि काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, मध्यपूर्व हुँदै विश्वभरका पर्यटकहरू सिधै पोखरा भित्रिने मार्ग खुल्ने विश्वास गरिएको छ।