चतुर्मासको समापनसँगै हरिबोधिनी एकादशी, धर्मसँगै वातावरण संरक्षणको सन्देश

-


     तुलसी राम सुवेदी    
     मंसिर ५ गते २०८३ मा प्रकाशित



मंसिर ४, पोखरा
हिन्दू धर्मावलम्बीहरूको महान् धार्मिक पर्व हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी आज देशभर भगवान् विष्णुको पूजा–आराधना, व्रत, उपवास तथा तुलसी विवाह गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई हरिबोधिनी, प्रबोधिनी तथा ठूलो एकादशीका नामले समेत चिनिन्छ । यस दिन तुलसी र भगवान् दामोदर (विष्णु) को विधिपूर्वक विवाह गरिने भएकाले यसलाई तुलसी विवाहका रूपमा पनि विशेष महत्त्वका साथ लिइन्छ ।
सनातन हिन्दू धर्म र संस्कृतिमा विशेष महत्त्व राख्ने यस एकादशीलाई भगवान् विष्णुको चारमहिने शयन अर्थात् चतुर्मास समाप्त हुने दिनका रूपमा मानिन्छ । धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजका दिन ब्युँझनुहुन्छ। भगवान् विष्णु जागृत हुने दिन भएकाले यसलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको धार्मिक विश्वास छ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चारमहिने अवधिलाई चतुर्मास भनिन्छ । यस अवधिमा भगवान् विष्णुको विशेष आराधना, तुलसी पूजा, भजनकीर्तन, जप, तप तथा धार्मिक अनुष्ठान गर्ने परम्परा छ । चतुर्मासमा विवाह, व्रतबन्ध लगायतका माङ्गलिक कार्य नगर्ने प्रचलन रहेकाले हरिबोधिनी एकादशीपछि विवाह लगायत शुभकार्यको औपचारिक सुरुआत हुने धार्मिक मान्यता छ।


तुलसी विवाहको विशेष महिमा


हरिबोधिनी एकादशीको सबैभन्दा आकर्षक र विशिष्ट पक्ष तुलसी विवाह हो । धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको अत्यन्त प्रिय वनस्पति तथा लक्ष्मीस्वरूपका रूपमा पूजा गरिन्छ। तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ । यस दिन घरघरमा तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमाला, ध्वजा तथा विभिन्न सामग्रीले सजाएर भगवान् दामोदरको प्रतीकसँग तुलसीको विवाह गराउने परम्परा छ ।
तुलसी विवाहलाई धार्मिक दृष्टिले प्रकृति र परमात्माबीचको पवित्र मिलनका रूपमा समेत व्याख्या गरिन्छ । यसले पारिवारिक सुख, शान्ति, समृद्धि, दाम्पत्य जीवनको सफलता र पारस्परिक प्रेमको प्रतीकात्मक सन्देश दिने विश्वास गरिन्छ ।

पशुपतिदेखि देवघाट र पोखराको रामघाटसम्म धार्मिक चहलपहल
हरिबोधिनी एकादशीका अवसरमा देशका प्रमुख धार्मिकस्थल तथा नदी किनारमा भक्तजनको चहलपहल बढ्ने गर्दछ । काठमाडौँको प्रसिद्ध पशुपतिनाथ मन्दिर परिसर तथा बागमती नदी किनारमा भक्तजनहरू स्नान, पूजा, दीपदान र धार्मिक अनुष्ठानमा सहभागी हुने गर्दछन्। यस अवसरमा फूल तथा पूजाका सामग्री नदीमा तार्ने धार्मिक परम्पराले समेत विशेष महत्त्व पाउने गरेको छ।
त्यसैगरी तनहुंको देवघाट र पोखराको रामघाटलगायतका धार्मिक तथा नदी किनारका स्थानमा पनि श्रद्धालुहरू पुगेर स्नान, पूजाआराधना, दीप प्रज्वलन तथा फूल तार्ने गर्दछन्। भगवान् विष्णुप्रति श्रद्धा व्यक्त गर्दै नदीमा फूल तथा पूजाका सामग्री अर्पण गर्ने परम्पराले धार्मिक वातावरणलाई थप भक्तिमय बनाउने गरेको छ। यस दिन पोखराका विभिन्न मठमन्दिरमा पनि विशेष पूजा, भजनकीर्तन तथा धार्मिक गतिविधि सञ्चालन हुने गर्दछन्।
व्रत, उपवास र दानको विशेष फल
हरिबोधिनी एकादशीका दिन बिहानै उठेर स्नान गरी भगवान् विष्णुको पूजा गर्ने, तुलसीमा जल अर्पण गर्ने, दीप प्रज्वलन गर्ने, विष्णुसहस्रनाम पाठ गर्ने तथा भजनकीर्तनमा सहभागी हुने परम्परा छ। यस दिन श्रद्धापूर्वक व्रत बस्दा पापबाट मुक्ति मिल्ने, पुण्य प्राप्त हुने र मोक्षको मार्ग प्रशस्त हुने धार्मिक विश्वास छ।
यस दिन तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्नु, दानदक्षिणा गर्नु, असहाय तथा विपन्नलाई सहयोग गर्नु र धार्मिक कार्यमा सहभागी हुनु विशेष पुण्यदायी मानिन्छ। व्रतालुहरूले अन्न सेवन नगरी फलाहार गर्ने तथा सखरखण्ड, पिँडालु, वनतरुललगायतका कन्दमूल सेवन गरी व्रत पूरा गर्ने गर्दछन्।
धार्मिक आस्थासँगै वातावरण संरक्षणको सन्देश
तुलसी विवाह र हरिबोधिनी एकादशी धार्मिक आस्थासँगै प्रकृति संरक्षणको सन्देश दिने पर्व पनि हो। तुलसीलाई पवित्र वनस्पतिका रूपमा पूजा गर्ने परम्पराले मानव जीवन र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ। यस अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण—चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायण लगायत देशका विभिन्न धार्मिकस्थलमा भक्तजनको उपस्थिति रहने गर्दछ।
पछिल्लो समय धार्मिक अनुष्ठानका नाममा नदी तथा जलाशयमा प्लास्टिक, कृत्रिम फूल, कपडा, धागो र नकुहिने पूजासामग्री विसर्जन गर्दा जलप्रदूषण बढ्ने जोखिम पनि उत्तिकै छ। त्यसैले धार्मिक आस्था र परम्पराको संरक्षणसँगै नदी तथा जलस्रोतको स्वच्छता कायम राख्नु सबैको साझा दायित्व हो। फूल तथा प्राकृतिक रूपमा कुहिने सामग्रीसमेत निर्धारित स्थानमा व्यवस्थापन गर्ने र प्लास्टिक तथा अन्य नकुहिने सामग्री नदीमा नफाल्ने अभ्यास आवश्यक देखिन्छ।
धर्म र प्रकृतिबीचको सम्बन्धलाई आत्मसात् गर्दै स्वच्छ नदी, सफा वातावरण र स्वस्थ समाज निर्माणमा सबैले ध्यान दिनुपर्ने सन्देश यस पर्वले दिएको छ।
भगवान् विष्णुको आराधना, तुलसी विवाह र चतुर्मासको समापनसँगै मनाइने हरिबोधिनी एकादशी नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सनातन परम्पराको जीवन्त प्रतीकका रूपमा स्थापित छ। आत्मसंयम, सदाचार, परोपकार र प्रकृतिप्रतिको सम्मानलाई जीवनमा आत्मसात् गर्न प्रेरित गर्ने यस पर्वको धार्मिक तथा सामाजिक महिमा उत्तिकै महत्वपूर्ण रहेको छ।