
१० भाद्र, धनगढी
नेपाल फोटोग्राफर महासंघको मेची–महाकाली अभियान अन्तर्गत सुदूरपश्चिमको धनगढीमा आयोजित केन्द्रीय बैठक बिधानका विभिन्न धारामा छलफल गर्दै संशोधनसहित सम्पन्न भएको छ ।
संस्थाले बुटवलमा गरेको प्रारम्भिक भेलाबाट सुरु भएको संस्थागत यात्रालाई “फोटोग्राफी क्षेत्रको विकास र प्रवद्र्धनका लागि महासंघको आवश्यकता” भन्ने मूल नारासहित देशव्यापी अभियान मार्फत अघि बढाउँदै आएको थियो । यसै अभियानको अन्तिम चरणमा धनगढीमा सम्पन्न बैठकले आगामी पौष महिनामा पहिलो महाधिवेशन गर्ने निर्णय समेत गरेको महासचिव डिगम्बर राजवंशीले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले संस्थाको आवश्यकता, महत्व र अभियानको उपलब्धिबारे प्रकाश पार्नुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले अभियानमा सक्रिय भई साथ र सहयोग गर्ने सम्पूर्ण सदस्य प्रति आभार व्यक्त गर्दै संस्थागत यात्रामा सबैको योगदान उच्च रहेको बताउनुभयो।
कोषाध्यक्ष तुलसी राम सुवेदीले महासंघ स्थापना क्रममा देखिएका चुनौती, केही तत्वका असहयोगपूर्ण प्रयास र त्यसलाई पन्छाउँदै आजसम्म आइपुग्दा सदस्यहरूको आर्थिक, भौतिक तथा नैतिक योगदान निर्णायक रहेको स्मरण गर्नुभयो । उहाँले महासंघ स्थापनामा सहयोग गर्ने सबै प्रति आभार पनि प्रकट गर्नुभयो ।
बिधान संशोधन कार्यका सहजकर्ता विक्रम न्यौपानेले समय र आवश्यकता अनुरूप संशोधनलाई संस्थाको सबल पक्षका रूपमा व्याख्या गर्नुभयो । सो अवसरमा “संस्था के हो, यसको संरचना र बिधान कस्तो हुनुपर्छ?” भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो, जसलाई लुम्बिनी प्रदेशका सामाजिक उद्यमी दल बहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो ।
धनगढीमा पहिलो पटक आयोजित यस अन्तरक्रियात्मक बैठकमा नेपाल फोटोग्राफर एशोसिएशन, कैलालीले स्थानीय व्यवस्थापनको जिम्मेवारी लिएको थियो । कार्यक्रममा सहभागी केन्द्रीय प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । साथै महासंघको अक्षयकोष स्थापनार्थ कैलाली शाखाले २५ हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरेको थियो ।







