चिकित्सा शिक्षा प्रवेश परीक्षामा आधा विद्यार्थी उत्तीर्ण, भर्नाका लागि कडा प्रतिस्पर्धा

-


     केन्द्रीय आवाज    
     मंसिर ४ गते २०८३ मा प्रकाशित


मंसिर ३ गते, पोखरा

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी २० हजार ५७९ जनामध्ये १० हजार ३२१ विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल परीक्षार्थीको करिब ५० प्रतिशत हो।

आयोगले गत कात्तिक १४ गते प्रवेश परीक्षा सञ्चालन गरेको थियो। सार्वजनिक बिदाका कारण नतिजा प्रकाशनमा केही ढिलाइ भएको आयोगका कार्यकारी उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्रीले जानकारी दिए।

प्रवेश परीक्षामा उत्तीर्ण हुन ५०औँ पर्सेन्टाइल वा न्यूनतम ५६.२५ अंक प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको थियो। परीक्षामा सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीले १८७.५ अंक हासिल गरेका छन्। यो जानकारी पनि कार्यकारी उपाध्यक्ष खत्रीले दिएका हुन्।

यस वर्ष एमबीबीएस अध्ययनका लागि २१ हजार २९३ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमध्ये २१ हजार ११६ नेपाली र १७७ विदेशी विद्यार्थी रहेका छन्। तर एमबीबीएस अध्ययनका लागि देशभर जम्मा २ हजार ७४५ सिट मात्रै उपलब्ध छन्। यसले उत्तीर्ण भएका सबै विद्यार्थीले अध्ययनको अवसर नपाउने अवस्था देखिएको छ।

परीक्षामा प्राप्त अंकका आधारमा विद्यार्थीको योग्यताक्रम निर्धारण गरिनेछ। सोही योग्यताक्रम र उपलब्ध सिट संख्याका आधारमा भर्ना प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

यसैबीच, चिकित्सा शिक्षा आयोगले यस वर्ष स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा कुल ९ हजार ६९१ सिट स्वीकृत गरेको छ। अघिल्लो शैक्षिक सत्रमा ९ हजार २७३ सिट रहेकोमा यस वर्ष ४१८ सिट थप गरिएको हो।

विभिन्न शिक्षण संस्थाले स्नातक तहका कार्यक्रम सञ्चालनका लागि १२ हजार ७१२ सिट माग गरेका थिए। तर आयोगले अनुगमन तथा मूल्यांकनपछि ९ हजार ६९१ सिट मात्रै स्वीकृत गरेको छ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा खत्रीले शिक्षण संस्थाले माग गरेकै आधारमा सिट निर्धारण नगरी आवश्यक मापदण्ड, पूर्वाधार र शैक्षिक क्षमताका आधारमा मात्रै स्वीकृति प्रदान गरिएको बताए। अनुगमन टोली तथा सिट निर्धारण समितिको सिफारिसलाई आधार मानेर सिट संख्या तय गरिएको उनको भनाइ छ।

त्यस्तै, आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्राडा दीपेन्द्र श्रेष्ठले शिक्षण संस्थाको भौतिक पूर्वाधार, आवश्यक जनशक्ति र शैक्षिक वातावरणको मूल्यांकन गरेर सिट निर्धारण गरिएको जानकारी दिए।

स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममध्ये सबैभन्दा बढी आवेदन बीएस्सी नर्सिङ तथा मिडवाइफ्री समूहमा परेको छ। निर्देशक श्रेष्ठका अनुसार उक्त समूहमा २२ हजार ३४८ जनाले आवेदन दिएका थिए। आवेदन संख्याका आधारमा एमबीबीएस दोस्रो स्थानमा रहेको छ भने बीडीएस अध्ययनका लागि १२ हजार ८४० जनाले आवेदन दिएका छन्।

आयोगका अनुसार स्नातक तहका विभिन्न कार्यक्रममा कुल ७७ हजार ११८ जनाले आवेदन दिएका थिए। तीमध्ये विभिन्न कारणले २३९ जनाको आवेदन रद्द भएको छ।

उपलब्ध ९ हजार ६९१ सिटका लागि परेको आवेदन संख्याले चिकित्सा शिक्षा क्षेत्रमा विद्यार्थीको आकर्षणसँगै बढ्दो प्रतिस्पर्धालाई समेत उजागर गरेको छ। एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएसँगै अब योग्यताक्रम निर्धारण, सिट बाँडफाँट र विद्यार्थी भर्नाको प्रक्रिया अघि बढ्ने निर्देशक श्रेष्ठले जानकारी दिए।