
पोखरा, २५ कात्तिक
होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडमा सम्पन्न १९ औं संस्करणको ‘भाइटिका महोत्सव’ मा विभिन्न १५ देशका ५१ जना विदेशी पर्यटकले सांस्कृतिक उत्साहका साथ टिका ग्रहण गरेका छन्। तिहारको अवसर पारेर बुधबार आयोजित सो महोत्सवमा ‘रेन्बो चिल्ड्रेन होम नेपाल’का छात्राहरूले विदेशी पर्यटकहरूलाई भाइटिका लगाइदिएका हुन्।
भाइटिका महोत्सवमा अमेरिका, बेलायत, चीन, जापान, अष्ट्रेलिया र लिथुएनिया लगायतका विभिन्न देशका नागरिकहरूको सहभागिता रहेको थियो। टिका ग्रहण गरेपछि महिला पर्यटकहरूलाई पछ्यौरा तथा पुरुष पर्यटकहरूलाई नेपाली ढाका टोपी उपहार स्वरूप प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले संस्कृति मार्फत पर्यटन प्रवर्धन गर्ने र भ्रातृत्व भाव अभिवृद्धि गर्ने उद्देश्यले संघले भाइटिकालाई महोत्सवका रूपमा निरन्तरता दिँदै आएको बताए। संघको यस प्रयासपछि पोखराका अन्य विभिन्न होटलहरूमा समेत पर्यटकहरूका लागि भाइटिका कार्यक्रम सञ्चालन हुन थालेको जानकारी उनले दिए।
महोत्सवका क्रममा विदेशी पर्यटकहरू नेपाली परम्परा अनुसार देउसी-भैलो र नाचगानमा झुमेका थिए भने नेपाली मौलिक परिकार सेलरोटीको स्वाद समेत लिएका थिए। टिका लगाएपछि लिथुएनियाकी पर्यटक मोनिकाले नेपाली संस्कृति र यहाँका नागरिकको आतिथ्यताप्रति खुसी व्यक्त गरिन्। मर्दी हिमाल पदयात्राका क्रममा मौसमका कारण दृश्यहरू प्रस्ट नदेखे पनि समग्र नेपाल बसाइ र भाइटिकाको अनुभव निकै स्मरणीय बनेको उनले प्रतिक्रिया दिइन्।
नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र पोखरा महानगरपालिकाको प्रवर्धनमा सम्पन्न सो महोत्सवलाई गोर्खा बियर र सोमरसवीले सहयोग गरेका थिए भने अनलाइन पार्टनरका रूपमा ‘रिभेल’ रहेको थियो।






