फ्लाई दुबईको उडानसँगै पोखराबाट दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा सहज पहुँच

-


     तुलसी राम सुवेदी    
     असाेज ७ गते २०८३ मा प्रकाशित



पोखरा, असोज ७

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब साढे तीन वर्षपछि पहिलोपटक दुबईसँग नियमित व्यावसायिक हवाई सेवा जोडिएको हो।

फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज बुधबार साँझ ६ः१९ बजे १ सय १३ यात्रु बोकेर दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आइपुगेको हो। पोखरा अवतरण गरेको जहाजलाई विमानस्थलमा पानीको फोहोरा (वाटर क्यानन) बाट स्वागत गरिएको थियो।

फ्लाई दुबईको जहाजलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विमानस्थलका अधिकारी, सरकारी निकायका प्रतिनिधि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको नियमित सेवाले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन तथा आर्थिक गतिविधिमा नयाँ सम्भावना सिर्जना गरेको छ। यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान गरे पनि ती उडान नियमित हुन सकेका थिएनन्।

उनका अनुसार फ्लाई दुबईको जहाज बुधबार साँझ ७ः१५ बजे १ सय ५३ यात्रु लिएर दुबईतर्फ फर्कने तालिका रहेको छ। निर्धारित उडान तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र त्यसपछि ७ः१५ बजे दुबईका लागि उड्नेछ।

नियमित उडान सुरु भएसँगै पोखरालाई दुबई हुँदै युरोप, अमेरिका, अस्ट्रेलियालगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने बाटो खुलेको छ। पोखराबाट वैदेशिक रोजगारी, अध्ययन, व्यापार तथा पर्यटनका लागि विदेश जाने यात्रुलाई पनि यसले थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

महाप्रबन्धक निरौलाले दुबई हुँदै विभिन्न मुलुकमा जाने यात्रुको यात्रा अवधि तथा खर्चसमेत घट्न सक्ने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यबाट विदेशी पर्यटकलाई पोखरा आउनसमेत सहज हुने भएकाले यसले पोखराको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत यो सेवा सञ्चालन हुनेछ। फ्लाई दुबईले विश्वका १ सय २० भन्दा बढी गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएको छ। पोखरा–दुबई नियमित उडानसँगै पोखरा दुबईको अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट सञ्जालमार्फत विश्वका विभिन्न गन्तव्यसँग जोडिएको छ।

यसबाट पोखराबाट युरोप, अमेरिका, अस्ट्रेलियालगायतका गन्तव्यमा जाने यात्रुले दुबईलाई ट्रान्जिट बनाएर तुलनात्मक रूपमा सहज यात्रा गर्न सक्नेछन्। यसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्ने सम्भावनासमेत थप बलियो बनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई पोखरा उडानका लागि अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीलाई नेपालका विमानस्थलमा आकर्षित गर्न कूटनीतिक तथा संस्थागत पहल गर्ने नीति लिएको थियो। त्यसको केही समयपछि फ्लाई दुबईले पोखराबाट नियमित सेवा सुरु गरेको हो।

विसं २०७९ पुस १७ गते अर्थात् सन् २०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। विभिन्न समयमा चार्टर तथा विशेष अन्तर्राष्ट्रिय उडान भए पनि नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन नसक्दा विमानस्थलको पूर्ण उपयोगितामाथि प्रश्न उठ्दै आएको थियो।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पोखरा विमानस्थलमा आकर्षित गर्न सरकारले विभिन्न शुल्कमा छुट तथा सहुलियतसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलमा लाग्ने पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ। यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

फ्लाई दुबईको नियमित सेवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोग बढाउनुका साथै नेपालको पर्यटन, व्यापार, रोजगारी, शिक्षा र वैदेशिक यात्रासँग सम्बन्धित गतिविधिमा समेत नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै पोखरालाई प्रत्यक्ष रूपमा विश्वका प्रमुख हवाई गन्तव्यसँग जोड्ने लामो समयदेखिको प्रयासले समेत मूर्तरूप पाएको छ।