साहित्य, कला र संस्कृतिको संगम बन्यो काव्यनगरी हेमजा, दुईदिने महोत्सव सम्पन्न

-


     केन्द्रीय आवाज    
     मंसिर ८ गते २०८३ मा प्रकाशित


७ मार्ग पोखरा

साहित्य, सिर्जना, कला र संस्कृतिको संगम बनेको काव्यनगरी हेमजामा आयोजित दोस्रो संस्करणको ‘हेमजा साहित्य महोत्सव’ सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै हेमजाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको दुईदिने महोत्सव आइतबार सम्पन्न भएको हो ।

महोत्सवको समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हेमजालाई काव्यनगरी घोषणा गरिसकेपछि त्यसको मर्मअनुसार योजनाबद्ध रूपमा साहित्यिक गतिविधि अघि बढाउनुपर्ने बताए । उनले साहित्य, कला र संस्कृतिको विकास पनि भौतिक पूर्वाधार निर्माणजत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै काव्यनगरीको पहिचान स्थापित गर्न तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । यस अभियानमा महानगरपालिकासहित प्रदेश र सङ्घीय सरकारको सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले महोत्सवले हेमजासहित समग्र पोखराको पहिचान विस्तारमा योगदान पुर्‍याएको बताए । साहित्य र पर्यटनलाई जोडेर अघि बढ्न सके हेमजालाई आकर्षक साहित्यिक गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

दुई दिनसम्म चलेको महोत्सवमा कविता, गजल, मुक्तक, लघुकथा, आख्यान, गैरआख्यान, साहित्यिक विमर्श, काव्यवाचन तथा पुस्तक परिचर्चालगायत कार्यक्रम सञ्चालन गरिएको थियो । ‘काव्यनगरी हेमजा : साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली : लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेमजा’ जस्ता विषयमा विमर्शसमेत गरिएको थियो । विभिन्न जिल्लाबाट आएका साहित्यकार तथा स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए भने कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

महोत्सवको पहिलो दिन कवि एवं भाषाशास्त्री मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिएको थियो । समापनका अवसरमा अभिनन्दन ग्रन्थसँगै साहित्यिक पत्रिका ‘हिमशिखर’को २७औँ अङ्क लोकार्पण गरिएको थियो ।

त्यसैगरी साहित्यकार धर्मराज पौडेल (अल्पायु), शशी अधिकारी तथा सामाजिक अभियन्ता वसन्तराज त्रिपाठी (अञ्जान), शिवप्रसाद पोखरेल, उमा पौडेल भुर्तेल र दीपक थापालाई सम्मान गरिएको थियो । महोत्सव सफल बनाउन योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले साहित्य, संस्कृति र सिर्जनामार्फत हेमजाको मौलिक पहिचानलाई विश्वमाझ चिनाउने अभियानका रूपमा महोत्सव आयोजना गरिएको बताए । महोत्सव संयोजक कृष्णप्रसाद पौडेलले सबैको सहकार्य र सहयोगले कार्यक्रम सफल भएको उल्लेख गरे ।

अध्यक्ष गायकको अध्यक्षतामा सम्पन्न समापन समारोहमा संयोजक पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव कोविदशरण उपाध्याय र उपमहासचिव छन्दिका त्रिपाठीले गरेका थिए ।