बन्द उद्योग पुनर्जागृत हुँदै : हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तीव्र तयारी

-


     केन्द्रीय आवाज    
     असार ३० गते २०८३ मा प्रकाशित


आषाढ ३०, पोखरा
लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी पहलले तीव्रता पाएको छ । उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी भइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योगको वर्तमान अवस्था, पुनः सञ्चालनका लागि भएका प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो।

मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको पूर्वतयारीलाई तीव्र बनाएको छ।

प्रतिवेदनमा सरकारको निर्देशनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको उल्लेख गरिएको छ। सोही लक्ष्यअनुसार उद्योग परिसरभित्र आवश्यक पूर्वाधार तथा प्राविधिक तयारी तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा रु. ३३ लाख निकासा गरिसकेको छ। उक्त रकमबाट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्य सहज रूपमा अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भइसकेको छ। टोलीले सरसफाइ सम्पन्न गर्नुका साथै परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको छ भने मेसिनहरूको मर्मत कार्य पनि सुरु भइसकेको छ।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयसमक्ष रु. ५० लाखको लागत अनुमान पेस गरिएको छ। सोही आधारमा मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ।

यस्तै, उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको कार्य हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको प्रतिवेदनमा उल्लेख छ, जसले परीक्षण उत्पादनका लागि आवश्यक प्राविधिक पूर्वाधार तयार भएको संकेत गरेको छ।

कार्यदलले तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिनहरू मर्मत गरी परीक्षण उत्पादन गर्ने तथा त्यसको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने सुझाव दिएको छ। डीपीआरका आधारमा आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने सरकारको योजना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग राष्ट्रिय गौरवसँग जोडिएको औद्योगिक सम्पत्ति भएकाले यसको पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले कार्यदलका सुझाव कार्यान्वयन गर्दै निर्धारित समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।