
२० जेष्ठ २०८३, बुधबार
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच बुधबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। पाँच दिने औपचारिक भ्रमणका क्रममा भएको उक्त भेटलाई नेपाल–भारत सम्बन्धको नयाँ अध्यायका रूपमा हेरिएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा भएको करिब एक घण्टा लामो भेटवार्तामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस. जयशंकर समेत सहभागी थिए। उच्चस्तरीय उपस्थितिले भेटको कूटनीतिक महत्वलाई थप उजागर गरेको छ।
भेटपश्चात् सभापति लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत ढाँचाबाट माथि उठाउँदै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले प्रधानमन्त्री मोदीसँगको संवादलाई “फलदायी र सार्थक” भन्दै विगतका सीमितता र अवरोधहरू पार गर्दै भविष्य उन्मुख सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
यता प्रधानमन्त्री मोदीले पनि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत लामिछानेसँगको भेटप्रति सन्तोष व्यक्त गर्दै साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्न तयार रहेको सन्देश दिनुभएको छ। “छिमेकी पहिलो” नीतिअन्तर्गत नेपाललाई प्राथमिकता प्राप्त साझेदारका रूपमा उल्लेख गर्दै उहाँले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र बहुआयामिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लामिछानेको भ्रमण दलका सदस्य तथा प्रतिनिधिसभा सदस्य दिपक बोहरा ले भारतले यस भ्रमणमा लामिछानेलाई दिएको सम्मान उल्लेखनीय रहेको बताउनुभयो। उहाँका अनुसार पछिल्लो दुई दशकयता नेपाली नेताहरूलाई दिइएको सम्मानको स्तरमा यो भ्रमण विशेष रूपमा उच्च रहेको छ।
भ्रमणकै क्रममा सभापति लामिछानेले बिहीबार नयाँ दिल्लीस्थित प्रवासी नेपालीहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी नेपाली विभागको आयोजनामा सम्पन्न हुने बताइएको छ।
यो भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई परम्परागत सीमाबाट अघि बढाउँदै नयाँ सोच, नयाँ सहकार्य र नयाँ सम्भावनातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।






