
लामाचौर, कास्की, २९ साउन ।
ॐ शिव शक्ति कल्याणी केन्द्रअन्तर्गत सञ्चालित कल्याणी बाल आश्रम, लामाचौरलाई गीता शान्ति मार्ग महिला समूहले खाद्यान्न, पूजा सामग्रीसहित नगद सहयोग हस्तान्तरण गरेको छ। संस्थाको १७औँ स्थापना दिवसको शुभअवसर पारेर महिला समूहले आश्रममा आश्रित बालबालिकाको सहयोगार्थ उक्त सामग्री तथा नगद हस्तान्तरण गरेको हो।
समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गीता शान्ति मार्ग महिला समूहले हरेक वर्ष विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधि गर्दै आएको जनाएको छ। सोही क्रममा यस वर्ष पनि बाल आश्रममा रहेका बालबालिकालाई सहयोग पुग्ने गरी खाद्यान्न, पूजा तथा होम सामग्री र नगद सहयोग उपलब्ध गराइएको हो।
कार्यक्रममा बोल्दै गिताशान्तीमार्ग महिला समुह की अध्यक्ष बृन्दा केसीले सामाजिक सेवा र मानवीय सहयोगलाई संस्थाले आफ्नो नियमित दायित्वका रूपमा अघि बढाउँदै आएको बताइन्।
पोखरामा २०६० सालदेखि सञ्चालनमा आएको कल्याणी बाल आश्रमले बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षामा सहयोग गर्दै आएको छ। आश्रमले २०८१ सालमा बालगृह सञ्चालनको अनुमति प्राप्त गरेको हो।
आश्रमको व्यवस्थापनका अनुसार हालसम्म ४५ जना बालबालिकाले आश्रमबाट सेवा प्राप्त गरिसकेका छन्। हाल आश्रममा १६ जना बालबालिका आश्रित छन्। तीमध्ये ४ जना बालिका र १२ जना बालक रहेको आश्रमकी व्यवस्थापक भगवती खत्रीले जानकारी दिइन्।
आश्रयविहीन तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको सुरक्षित भविष्य निर्माणमा आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताइन्। बालबालिकाको शिक्षा, स्वास्थ्य, खानपान तथा दैनिक आवश्यकताका लागि विभिन्न व्यक्ति, समूह तथा सामाजिक संस्थाबाट प्राप्त सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ।
कार्यक्रम संस्थाकी अध्यक्ष बृन्दा केसीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष सबिता गिरीले गरेकी थिइन्।
सामाजिक सेवामार्फत समुदायमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमले बाल आश्रममा आश्रित बालबालिकाको दैनिक आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





