
पोखरा, असार २३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ (सेप्टेम्बर २३) देखि दुबईका लागि नियमित उडान गर्ने घोषणा गर्दै फ्लाई दुबईले टिकट बुकिङ खुला गरेपछि पोखरा र आसपासका व्यवसायी तथा सर्वसाधारण उत्साहित बनेका छन ्। कम्पनीले भने उडानलाई दीर्घकालीन र नियमित बनाउन तीनै तहका सरकार तथा निजी क्षेत्रको सक्रिय सहयोग आवश्यक रहेको जनाएको छ ।
यसअघि चीन र भुटानका गन्तव्यमा सुरु भएका अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अनुभवका कारण पोखरा–दुबई उडानको स्थायित्वबारे चासो बढिरहेका बेला फ्लाई दुबईको टोलीले पोखरामा विभिन्न सरोकारवालासँग छलफल गरेको हो।
टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमाल, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायत सरकारी अधिकारीसँग भेट गर्दै सरकारले उपलब्ध गराउँदै आएको हवाई सेवा सहुलियतको अवधि तीनदेखि पाँच वर्षसम्म विस्तार गर्न र श्रम स्वीकृति पोखराबाटै जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
नेपालका लागि फ्लाई दुबईका महाप्रबन्धक नवराज शाहीले सरकारी सहुलियत र सहज श्रम स्वीकृतिबिनाको अवस्थामा यात्रु काठमाडौ ंमै केन्द्रित हुन सक्ने भएकाले पोखराबाट उडान दीगो बनाउन तत्काल नीतिगत निर्णय आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारी सहुलियत निरन्तरता र श्रम स्वीकृति पोखराबाट उपलब्ध गराउने विषयमा पहल गर्ने बताए । मन्त्री रिमाल र महानगर प्रमुख आचार्यले पनि उडानलाई सफल बनाउन पूर्ण सहयोगको आश्वासन दिएका छन ्।
फ्लाई दुबईको टोलीले पोखरा उद्योग वाणिज्य संघ, नाट्टा, हान, टान, रेवान र एनवाईईएफसँग समेत छलफल गर्दै प्रचारप्रसार र व्यावसायिक साझेदारीका लागि सहयोग मागेको थियो। भेटघाटपछि टोली उत्साहित बनेको र पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकारात्मक वातावरण बनेको समन्वयकर्ता पोमनारायण श्रेष्ठले बताएका छन ्।






