कोरला–मुस्ताङ पर्यटन विकासलाई गति दिने सरकारको प्रतिबद्धता, स्थानीय सरोकारवालासँग व्यापक छलफल

-


     केन्द्रीय आवाज    
     असार २१ गते २०८३ मा प्रकाशित


मुस्ताङ, असार २१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोर अन्तर्गतको कोरला सडकलाई देशकै महत्वपूर्ण पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको स्पष्ट योजना रहेको बताएका छन्।

मुस्ताङको पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा पूर्वाधार विस्तारका विषयमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्म जोड्ने सडकलाई शीघ्र स्तरोन्नति गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गरिने जानकारी दिए।

उनले पर्यटनलाई नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै कोरला सडकलाई केवल यातायातको माध्यम नभई पर्यटन, व्यापार र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने रणनीतिक पूर्वाधारका रूपमा विकास गरिने बताए। साथै, मुस्ताङ–डोल्पा सडक निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको जानकारी दिए।

मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा उच्च हिमाली उचाइका कारण पर्यटकमा देखिने ‘लेक लाग्ने’ (उच्च स्थानको स्वास्थ्य समस्या) जोखिमप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै पर्यटकको स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने विषयमा सरोकारवाला निकायले आवश्यक पहल गर्नुपर्ने सुझाव दिए। यस्तो व्यवस्थाले पर्यटकलाई अनुकूलनका लागि पर्याप्त समय उपलब्ध गराई स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास थियो।

छलफलका क्रममा मुस्ताङका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले जिल्लाको पर्यटन विकासका सम्भावना, पूर्वाधार अभाव, सडक सुधार, पर्यटक सुरक्षालगायतका चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए। उनीहरूले मुस्ताङलाई अन्तर्राष्ट्रियस्तरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक नीति, पूर्वाधार र बजेट व्यवस्थापनमा सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा पर्यटनसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकाय, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।