
६ भाद्र पोखरा
गितान्जली साहित्य समाज पोखरा को २० औ साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भानु भण्डारी ‘क्षितिज’लाई पुनः दोस्रो कार्यकाल का लागि अध्यक्षमा निर्वाचित गरेको छ।
अधिवेशनमा अध्यक्ष पदका लागि भानु भण्डारी ‘क्षितिज’ र धर्मराज पौडेल ‘अल्पायु’बीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा भानु भण्डारी ‘क्षितिज’ विजयी भएका हुन्। अध्यक्ष बाहेकका अन्य पदमा भने सर्वसम्मत रूपमा पदाधिकारी तथा कार्यसमिति चयन गरिएको थियो।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयोजक कल्याण पन्तले शपथ ग्रहण गराएका थिए। निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा टीका तथा मालासहित बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

अधिवेशनबाट उपाध्यक्षमा शंकर ज्ञवाली, सचिवमा चन्द्रावती वाग्ले, सहसचिवमा विष्णु खड्का कार्की ,कोषाध्यक्षमा वसन्तप्रसाद चालिसे चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा लक्ष्मण आचार्य, तुलसीराम सुवेदी, हरिश्चन्द्र आचार्य, चित्रादेवी अधिकारी र तेजबहादुर गुरुङ चयन भएका छन्।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रा.डा. बलराम उपाध्याय रेग्मी र पदमराज ढकाल लगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। वक्ताहरूले संस्थाको उद्देश्यअनुरूप साहित्य, सिर्जना र सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउन नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

यसै अवसरमा संस्थाको २८४औँ साधना प्रभात कार्यक्रमसमेत सम्पन्न भएको थियो। कार्यक्रममा करिब दुई दर्जन साहित्यकार तथा स्रष्टाहरूले आफ्ना साहित्यिक रचना वाचन गरेका थिए। रचना वाचनसँगै साहित्यिक सिर्जना, विचार आदान–प्रदान र स्रष्टाहरूबीच आत्मीयता अभिवृद्धि गर्ने वातावरण बनेको थियो। कार्यक्रमको अध्यक्षता भानु भण्डारी ‘क्षितिज’ले गरेका थिए भने सञ्चालन सचिब नरेन्द्र रानाभाटले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष भानु भण्डारी ‘क्षितिज’ले संस्थालाई थप सक्रिय, सिर्जनशील र परिणाममुखी बनाउँदै साहित्य तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनले संस्थाको आगामी यात्राका लागि नयाँ नेतृत्वसँगै नयाँ ऊर्जा र सम्भावनासमेत थपेको सहभागीहरूको भनाइ थियो।





