प्रदेश सांसद गुरुङलाई २५ मतले पराजित गर्दै राप्रपा गण्डकी अध्यक्षमा खनाल निर्वाचित

-


     केन्द्रीय आवाज    
     असाेज २२ गते २०८३ मा प्रकाशित


पोखरा, २२ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन खनाल निर्वाचित भएका छन्। बुधबार सम्पन्न पार्टीको दोस्रो प्रदेश अधिवेशनमा खनालले गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष पञ्चराम गुरुङलाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचनमा खनालले १ सय ८९ मत प्राप्त गर्दा प्रतिस्पर्धी गुरुङले १ सय ६४ मत पाए। अधिवेशनमा कुल ४ सय २८ मतदाता रहेकामा ३ सय ६० जनाले मतदान गरेका थिए। त्यसमध्ये सात मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

नवनिर्वाचित अध्यक्ष खनाल राप्रपाका केन्द्रीय सदस्य तथा केन्द्रीय पर्यटन विभागका सदस्यसमेत हुन्। उनले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–३ बाट उम्मेदवारी दिएका थिए।

पराजित गुरुङ राप्रपा गण्डकी प्रदेशसभाका संसदीय दलका नेतासमेत हुन्। उनले राप्रपा गण्डकी प्रदेश अध्यक्षका रूपमा चार वर्ष कार्यकाल पूरा गरेका थिए।

अधिवेशनबाट ४१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिएको छ। कार्यसमितिका सदस्यहरू भने सर्वसम्मत निर्वाचित भएका हुन्। नवनिर्वाचित कार्यसमितिमा अशोक गुरुङ, अर्जुन बस्नेत, इन्द्रबहादुर मल्ल, कृष्णकुमार तिवारी, किशोर खरेल, गोविन्द पुन, डम्बरबहादुर सुवेदी, दीपक भण्डारी, दीपकराज उपाध्याय, दुर्गाबहादुर मल्ल, पूर्णबहादुर थापा क्षेत्री, प्रभू गुरुङ, कुलमाया कामी, बिन्दु मल्ल, हिमराज भण्डारी, मदन परियार, मनीष केसी, यामबहादुर बराल, रमेशराज पाण्डेय, रामनाथ उप्रेती, समीक्षा बुढाथोकी थापा र सुशीला सापकोटालगायत रहेका छन्।

राप्रपाको विधानअनुसार प्रदेश कार्यसमितिमा अध्यक्षसहित तीन उपाध्यक्ष रहने व्यवस्था छ। त्यसमध्ये एक उपाध्यक्ष महिला रहनेछन्। सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्तालगायत पदाधिकारी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ। साथै, अध्यक्षले कार्यसमितिको बाँकी २५ प्रतिशत सदस्यसमेत मनोनयन गर्नेछन्।

अधिवेशनको निर्वाचन अमृत पुडासैनी नेतृत्वको निर्वाचन समितिले गराएको हो। यसअघि अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले गरेका थिए।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष गुरुङले पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले सरकारका कामको समीक्षा गर्दै सकारात्मक पक्षलाई स्वीकार गर्न र कमजोरी तथा नराम्रा कामको विरोध गर्नुपर्ने बताएका थिए।