पुम्दी–भुम्दीमा खेल पर्यटनको उत्सव, पर्वतीय दौडमा नरेन्द्रको पुनरागमनसहित उपाधि रक्षा

-


     केन्द्रीय आवाज    
     असाेज २४ गते २०८३ मा प्रकाशित


पोखरा, असोज २४

पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आयोजित तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका धावक नरेन्द्रसिंह रावतले पुनः जितेका छन्। विश्व पर्यटन दिवसको अवसरमा आयोजित आठ किलोमिटर दूरीको दौड ३४ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै रावतले उपाधि रक्षा गरेका हुन्। उनले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

पोखराको प्राकृतिक सौन्दर्य, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार र खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न उमेर समूह, महिला, भेट्रान्स तथा विदेशी धावकको सहभागिता रहेको थियो। प्रतियोगिताले पुम्दी–भुम्दी क्षेत्रलाई साहसिक गतिविधि र पर्वतीय खेलकुदको आकर्षक गन्तव्यका रूपमा चिनाउन सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

मुख्य प्रतिस्पर्धातर्फ गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए। धीरजबहादुर बुढा चौथो तथा सरोज कुँवर पाँचौँ स्थानमा रहे। त्यस्तै, छैटौँदेखि दशौँ स्थानसम्म क्रमशः महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवरले स्थान बनाए।

महिलातर्फ दीर्पा बस्नेत प्रथम भइन्। दोरपता कठायत दोस्रो, मीनु बुढा तेस्रो, सिमरन थापा चौथो र संजिला राई पाँचौँ भए।

विभिन्न विधामा खेलाडीको प्रतिस्पर्धा

प्रतियोगिताअन्तर्गत १६ वर्षमुनिको उमेर समूहमा कमल विक पहिलो भए। मुलुक सिंह खत्री दोस्रो, सक्षम बोहोरा तेस्रो, सुशान्त विक्रम तिवारी चौथो र सफल खड्का पाँचौँ स्थानमा रहे।

पोखरा–२२ वडास्तरीय दौडमा क्रिशल परियारले पहिलो स्थान हासिल गरे। सुयन विक दोस्रो, कमल पौडेल तेस्रो, पुष्पराज बराल चौथो र सुजल परियार पाँचौँ भए।

भेट्रान्स विधामा तेजबहादुर गुरुङ प्रथम बने। किशोर थापा दोस्रो, कमल गुरुङ तेस्रो, अनुप केसी चौथो र योगप्रसाद गुरुङ पाँचौँ स्थानमा रहे। विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन पहिलो, रसियाका अलेकजेण्डर दोस्रो र माइखाइलो तेस्रो भए।

पर्यटकीय सम्पदालाई जोड्दै दौड

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा सम्पन्न दौड विश्व शान्ति स्तूपबाट सुरु भएको थियो। विशाल महादेवको मूर्ति र वडा कार्यालय हुँदै धावकहरू बुद्ध पार्क पुगेर दौड पूरा गरेका थिए। धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षणलाई समेटिएको दौडमार्गले पुम्दी–भुम्दीको पर्यटन सम्भावना उजागर गरेको आयोजकको विश्वास छ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले प्रतियोगिताको उद्घाटन गरेकी थिइन्। पुरस्कार वितरण समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, उपसचिव टंकप्रसाद ढकाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण कँडेल, पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम तथा पर्यटन क्षेत्र र खेलकुदसँग सम्बन्धित विभिन्न व्यक्तित्वको उपस्थिति थियो।

महानगर प्रमुख आचार्यले यस्ता प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनसँगै खेलकुदको विकासमा योगदान पुर्‍याउने उल्लेख गर्दै महानगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए।

पर्यटन र खेलकुदमा योगदान पुर्‍याउने सम्मानित

प्रतियोगिताकै अवसरमा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन तथा विकासमा योगदान पुर्‍याएका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो। त्यसैगरी, ओलम्पियन बैकुण्ठ मानन्धर र करातेका उदीयमान खेलाडी आर्यन रञ्जितलाई पनि नगदसहित सम्मान गरियो।

प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले स्वागत मन्तव्य राखेका थिए भने दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए। सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको पञ्चेबाजा र स्थानीयवासीले धावकहरूलाई भव्य स्वागत गरेका थिए।

वडा युवा परिषद् पोखरा–२२ का अध्यक्ष दिनेश बरालका अनुसार प्रतियोगिताले स्थानीय समुदायको उत्साह बढाउनुका साथै खेलकुद, पर्यटन र सामाजिक सहभागितालाई एकै ठाउँमा जोडेको छ। पर्वतीय दौडलाई निरन्तरता दिँदै पुम्दी–भुम्दीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने अपेक्षा गरिएको छ।