गण्डकीमा अग्रज पत्रकार सम्मानको थालनी, पाँच पत्रकार सम्मानित

-


     केन्द्रीय आवाज    
     असार २० गते २०८३ मा प्रकाशित


पोखरा, असार २०
गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले प्रदेशको पत्रकारिता इतिहासलाई संस्थागत रूपमा अभिलेखीकरण गर्ने उद्देश्यसहित अग्रज पत्रकार सम्मान कार्यक्रमको औपचारिक थालनी गरेको छ । पोखरामा शनिबार आयोजित ‘गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोह’ मा पत्रकारितामा दीर्घकालीन योगदान पु¥याएका गण्डकी प्रदेशका पाँच अग्रज पत्रकारलाई नगद, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
यस वर्ष सम्मानित हुनेमा पोखराका स्वर्गीय केशवराज पराजुली र तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी तथा पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनही ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला प्रदान गर्दै उनीहरूको पत्रकारिता प्रतिको समर्पणको उच्च प्रशंसा गरे ।
तीन दिनअघि ९१ वर्षको उमेरमा निधन भएका स्वर्गीय केशवराज पराजुलीको सम्मान नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षद्वय कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले ग्रहण गरे । समारोह कै अवसरमा सम्मानित पत्रकारहरूको जीवनयात्रा, संघर्ष र योगदान समेटिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि विमोचन गरिएको थियो ।
मुख्यमन्त्री पाण्डेले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै संघीय व्यवस्था प्रति उठाइने प्रश्नहरूमा गम्भीर बहस हुनुपर्ने बताए । प्रदेश सरकारको औचित्य माथि उठ्ने आवाज प्रति संकेत गर्दै उनले संघीयताको आधार कमजोर पार्ने प्रयासले भविष्यमा मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिए ।
“विगत ३५ वर्षमा देशले केही पनि गरेन भन्ने निष्कर्ष गलत हो,” उनले भने, “शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ । प्रेस स्वतन्त्र हुनुपर्छ, सत्य बोल्न र लेख्न कसैलाई रोक्न मिल्दैन।”
उनले सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबीचको भिन्नता आमनागरिकलाई बुझाउन सञ्चारमाध्यमले थप जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए। सरकारका कमी–कमजोरीलाई पनि तथ्यका आधारमा उजागर गर्न सञ्चार माध्यमलाई आग्रह गर्दै त्यसले शासन प्रणालीलाई थप उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले इतिहास अभिलेखीकरणबिनाको समाजले आफ्नो अनुभव र पहिचान गुमाउने भएकाले अग्रज पत्रकारहरूको जीवन, संघर्ष र योगदानलाई पुस्तक तथा डिजिटल माध्यमबाट सुरक्षित गर्ने अभियान सुरु गरिएको बताइन्।
“एउटा पुस्ताको अनुभव र योगदान दस्तावेजीकरण गरिएन भने त्यो इतिहाससँगै हराएर जान्छ,” उनले भनिन्, “त्यसैले पत्रकारिताको विरासत जोगाउन यो अभियान सुरु गरिएको हो।” उनले सत्य, निष्पक्ष, व्यावसायिक र उत्तरदायी पत्रकारिताको प्रवद्र्धनमा प्रेस रजिष्ट्रारको कार्यालय प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।

सम्मानित पत्रकारको तर्फबाट बोल्दै विश्वबन्धु भण्डारीले पत्रकार शासक र जनताबीचको जिम्मेवार सेतु भएको उल्लेख गर्दै यस्तो सम्मानले पत्रकारिताप्रतिको उत्तरदायित्व अझ बढाउने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सञ्चार उद्योग अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यम मै सीमित गर्ने नीति प्रति असन्तुष्टि जनाए । पत्रकार स्वास्थ्य बिमाका लागि विनियोजित बजेट अपेक्षा भन्दा कम रहेको उल्लेख गर्दै नवीकरण हुन नसकेका सञ्चारमाध्यमलाई एकपटकका लागि विशेष छुट सहित नवीकरण गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे।
अग्रज पत्रकार छनोटका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पूर्वअध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल तथा प्रेस रजिष्ट्रार बिमला भण्डारी सदस्य थिए।
‘स्वच्छ प्रेस ः समुन्नत गण्डकी प्रदेश’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो। प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार अमृत सुवेदीले गरेका थिए । समिट अन्तर्गत ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई)’ विषयमा दुई अलग सत्रमा विशेषज्ञहरूले गहन छलफल समेत गरेका थिए।