
तस्बिर एआई निर्मित
२४ असोज , पोखरा
सोह्र श्राद्धको अन्तिम दिन अर्थात् महालय औंसीको पावन अवसरमा आज बिहानैदेखि मन्दिर परिसर र नदी किनार आसपासको वातावरण भक्तिमय थियो । अघिल्ला दिनहरूमा विभिन्न कारणवश पितृ श्राद्ध छुटेका वा तिथि थाहा नभएकाहरूका लागि आजको दिन अन्तिम र उत्तम अवसर मानिन्छ । मन्दिर आसपास बसोबास गर्ने भएकाले यो दृश्य मेरो आँखा अगाडि अझ जीवन्त भएर आयो ।
एकातिर निराजल व्रत बसेर, नदीमा स्नान गरी आफ्ना पूर्वज तथा जन्मदाताको मृतआत्माको मोक्षको कामना गर्दै अश्रुपूर्ण नयनका साथ तर्पण र पिण्डदान गर्नेहरूको लाम थियो । टाढा भएका वा आर्थिक÷भौतिक रूपमा असमर्थहरू पनि सिधा दान गरेर भए पनि पितृप्रति कृतज्ञता प्रकट गर्दै थिए । सनातन धर्मको यो एउटा यस्तो सुन्दर र आदिम परम्परा हो, जसले मानिसलाई आफ्ना जरा (Roots) र पूर्वजहरूसँग जोड्छ ।
तर, ठीक त्यही मन्दिर र तीर्थस्थलको नजिकै रहेको अर्को दृश्यले भने मलाई स्तब्ध र अचम्मित बनायो । मन्दिरको घण्टी र वैदिक मन्त्रको गुञ्जन सुनिने केही मिटरको दूरीमै एउटा भट्टी (भट्टी पसल) थियो । त्यहाँको माहोल भने बिल्कुलै फरक थियो । उही धर्म, उही संस्कृति र समाजका मानिसहरू औंसीको यो पावन दिनमा पनि बिहानैदेखि मदिराको मातमा मस्त थिए । एकातिर पितृको नाममा जल र तिल चढाइँदै थियो भने अर्कातिर मदिराका गिलासहरू ठोकिइरहेका थिए र अट्टहास गुञ्जिरहेको थियो । यो दृश्य देख्दा म भित्र एकैपटक हाँसो, उदेक र गहिरो चिन्ताको आँधी चल्यो।
१. “दुई दिनको चोला ” र जीवनको विरोधाभास
यो विरोधाभासलाई नजिकैबाट नियाल्दा मनमा एउटा दार्शनिक प्रश्न खडा भयो— आखिर यो दुई दिनको मानिस चोलामा जसले जे गरे पनि खासै केही फरक नपर्ने रहेछ त ?
हामी एकातिर धर्म, नीति र सामाजिक नियम–कानुनको सूत्रमा बाँधिएर जीवनलाई अनुशासित बनाउने प्रयास गर्छौँ । अर्कातिर, त्यही समाजको अर्को पक्ष भने सबै नैतिक सीमा र धर्मलाई लत्याएर स्वच्छन्द रूपमा “सुरा र सुन्दरी” तथा क्षणिक भौतिक आनन्दमै लीन भइदिन्छ । अचम्म त के छ भने, धेरैजसो मानिसहरू समय र परिस्थिति अनुसार आस्तिक र नास्तिकको दोहोरो भूमिका निभाइरहेका भेटिन्छन यो समाजमा ्। बिहान मन्दिरमा धूप बाल्ने हातहरू साँझपख भट्टीमा गिलास समात्न पुग्छन ्।
यदि जीवनको अन्तिम सत्य एउटै हो भने, नियम र अनुशासनमा बाँधिनेहरूको समर्पणको मूल्य के ? र धर्म–संस्कारलाई उपहास बनाउनेहरूको यो स्वच्छन्दताको अर्थ के ?
२. देखावटी परम्परा कि वास्तविक चेतना ?
ऋादिमकाल देखि चलिआएको श्राद्ध परम्पराको मूल मर्म ’पितृदेवो भवः’ अर्थात् आफ्ना जन्मदाता र पूर्वजहरूप्रति कृतज्ञ हुनु हो तर आजको समाजमा धर्म र परम्परा धेरैजसो मानिसका लागि केवल एउटा ’दिखावटी औपचारिकता’ वा सामाजिक प्रदर्शन मात्र बन्दै गएको छ ।
जीवित छँदा मातापितालाई एक घुट्को पानी र अलिकति सम्मान दिन नसक्ने, तर मरेपछि ठूला कर्मकाण्ड र श्राद्धको स्वाङ रच्ने प्रवृत्ति मौलाउँदो छ दुनिंयामा । एकातिर भक्ति र पवित्रताको कुरा गर्ने, अर्कातिर चेतना र विवेक गुमाएर मदिराको दलदलमा फस्ने—यो चरित्रले हाम्रो सामाजिक र नैतिक धरातल कति कमजोर छ भन्ने कुरा प्रष्ट पार्छ ।
३. कता जाँदैछ हाम्रो सभ्यता ?
सभ्यता केवल ठूला र भव्य मन्दिरहरू निर्माण गर्नु वा पुराना रीतहरूलाई अन्धभक्त भएर दोहो¥याउनु मात्र होइन । सभ्यता त मानिसको आचरण, सोच र नैतिक मूल्यमा झल्कनुपर्छ ।
आजको नेपाली समाज एकातिर आधुनिकताको नाममा आफ्नो मौलिक अनुशासन गुमाउँदै छ भने अर्कातिर धर्मलाई मन्त्र र पिण्डदानमा मात्र सीमित गर्दैछ । मन्दिर र भट्टीको यो सह–अस्तित्वले हाम्रो समाजभित्रको आन्तरिक रित्तोपन र दोहोरो चरित्र (Hypocrisy) लाई उजागर गर्दछ ।
निष्कर्ष
मानव जीवन वास्तवमै रहस्यमय छ । तर, धर्म र आस्थाको वास्तविक उद्देश्य मानिसलाई अन्धविश्वासी वा डराएको प्राणी बनाउनु होइन, बल्कि मानिसलाई विवेकशील, अनुशासित र दयालु ’मानिस’ बनाइराख्नु हो ।
यदि आज औंसीको दिन पनि हामी आफ्ना जन्मदाताको स्मरणमा दुई मिनेट गम्भीर हुन सक्दैनौँ र मदिराको मातमा आफ्ना नैतिक मूल्यहरू बिर्सिन्छौँ भने, हामीले गम्भीर भई सोच्ने बेला आएको छ— हामी कस्तो समाज निर्माण गर्दैछौँ र हाम्रा भावी पुस्तालाई कस्तो संस्कार हस्तान्तरण गर्दैछौँ ? एकपटक एता पनि सोच्ने हो की ।





