चाडपर्वमा चोरी, ठगी र आपराधिक गतिविधिबाट सतर्क रहन प्रहरी र राष्ट्र बैंकको आग्रह

-


     केन्द्रीय आवाज    
     कार्तिक २ गते २०८३ मा प्रकाशित


तस्बिर एआई

तस्बिर एआई

१ कार्तीक पोखरा

दसैँ–तिहारलगायतका चाडपर्व नजिकिएसँगै चोरी, लुटपाट, अनलाइन ठगी तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्ने भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले ‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित सार्वजनिक अपिल जारी गर्दै चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन अनुरोध गरेको हो। चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने र सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले चोरी, पाकेटमारी, ठगी तथा अन्य आपराधिक गतिविधिबाट जोगिन आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

घरबाहिर जाँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई घरको निगरानी गर्न अनुरोध गर्न तथा सीसीटीभीजस्ता सुरक्षा उपाय अपनाउन प्रहरीले सुझाव दिएको छ। भीडभाडमा मोबाइल, गरगहना र नगदको सुरक्षा गर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान तथा सुन र विदेशी मुद्रा साट्ने नाममा हुन सक्ने ठगीबाट बच्न पनि अनुरोध गरिएको छ। त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न र पटका तथा आतिसबाजी प्रयोग नगर्न प्रहरीले सचेत गराएको छ।

यसैबीच, नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले डिजिटल बैंकिङ, ई–कमर्स तथा विद्युतीय भुक्तानीमार्फत हुने वित्तीय ठगीप्रति सचेत रहन आग्रह गरेको छ। सामाजिक सञ्जालमा चिट्ठा परेको वा उपहार जितेको भन्दै पठाइने नक्कली लिङ्क, नक्कली बैंक तथा डिजिटल वालेटका वेबसाइट र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने अनलाइन विक्रेताबाट सतर्क रहन इकाईले अनुरोध गरेको छ।

बैंक खाताको पासवर्ड, एटीएमको विवरण, डिजिटल वालेटको पिन तथा ओटीपी कसैलाई नदिन र भुक्तानी गर्नुअघि वेबसाइट तथा विक्रेताको आधिकारिकता जाँच गर्न पनि सुझाव दिइएको छ।

ठगीमा परेमा तत्काल सम्बन्धित बैंक वा डिजिटल वालेटको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी कारोबार सुरक्षित गर्न र नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।