बूढीगण्डकीमा बाढीको कहर : घर, पुल र संरचना बगायो, तटीय क्षेत्रमा उच्च सतर्कता

-


     केन्द्रीय आवाज    
     असाेज २५ गते २०८३ मा प्रकाशित


गोरखा, असोज २५

गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा पहिरो गएपछि बूढीगण्डकी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले गोरखा र धादिङका विभिन्न बस्तीमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले अहिलेसम्म ६ वटा पुल र चुमनुब्री गाउँपालिका–३ पैयुँ तथा बगरका करिब ३५ घर बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले नदी आसपासका बस्ती, सडक, पदमार्ग, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको हो। बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेकाले मानवीय तथा भौतिक क्षति अझै बढ्न सक्ने देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा समेत ठूलो क्षति पुर्‍याएको छ। आयोजनाका नौवटा ब्लक र छवटा सार्वजनिक भवन बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आयोजनामा कार्यरत १८ जना कर्मचारीले भने बाढीको पूर्वसूचना पाएपछि सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका छन्। उनीहरूलाई स्थानीयले बाढी आउन लागेको जानकारी गराएका थिए। सुरक्षित स्थानमा पुगेका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी गरिएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए।

‘प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू आ–आफ्नो क्षेत्रमा परिचालित छन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा मानवीय जीवनको रक्षा गर्नु हो,’ उनले भने।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाको टोलीले जगत क्षेत्रबाट छ जनालाई हवाई उद्धार गरिसकेको छ। उद्धारका लागि काठमाडौंँबाट समेत सेनाको हवाई टोली परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली स्थलगत रूपमा पनि खोज तथा उद्धारमा जुटेका छन्।

छवटा पुल बगाउँदा आवागमन अवरुद्ध

बाढीले गोरखा र धादिङलाई जोड्ने महत्त्वपूर्ण पुलहरू बगाएपछि स्थानीय बासिन्दाको आवागमन प्रभावित भएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाउँदा दुई पालिकाबीचको सडक सम्पर्क विच्छेद भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीले त्यस क्षेत्रका करिब १५० घरमा पसेर क्षति पुर्‍याएको छ। बाढीले घरमा क्षति पुर्‍याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको उनले बताए।

‘हाम्रो मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको छ,’ अध्यक्ष उप्रेतीले भने।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुंगे पुल बगाएको छ। आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल, मध्यपहाडी लोकमार्गमा पर्ने पुल, धार्चे गाउँपालिका–१ हुल्चोक र वडा नम्बर ३ उहिया जोड्ने बेलिब्रिज तथा माछीखोला र केरौँजा जोड्ने झोलुंगे पुलमा क्षति पुगेको छ। चुमनुब्रीको ठाडो भर्‍याङ र जगत जोड्ने पुल पनि बगाएको छ भने सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुंगे पुल क्षतिग्रस्त भएको छ।

बाढीको जोखिम तल्लो तटीय क्षेत्रमा पनि

बाढीले चुमनुब्रीका पैयुँ र बगरमा करिब ३५ घर बगाउनुका साथै जगत, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार बूढीगण्डकी नदीमा बेला–बेलामा अवरोध उत्पन्न हुँदा पानी थुनिने र एक्कासि लेदोसहितको बाढी आउने समस्या दोहोरिने गरेको छ।

गोरखा र धादिङमा मात्रै सीमित नरहेको बाढीको जोखिम बूढीगण्डकीको तल्लो तटीय क्षेत्रमा समेत बढेको छ। नदीको जलसतह जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ।

बाढी पूर्वानुमान महाशाखाले बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेको जनाउँदै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ। चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा पनि मध्यम जोखिम रहेकाले सतर्क रहन सूचित गरिएको छ।

महाशाखाले बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी र सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।