
एआई निर्मित तस्बिर
पोखरा, कार्तिक ७ ।
विश्वभरका वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुँदै आएको प्रोग्रामिङ भाषा ‘पीएचपी’मा दुईवटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि साइबर सुरक्षाको विषयले नयाँ चुनौती थपेको छ। सम्भावित साइबर आक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभिन्न देशका सरकारी, शैक्षिक तथा स्वास्थ्य संस्थाले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्। नेपालमा पनि जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कात्तिक ५ गते सुरक्षा परामर्श सूचना (एडभाइजरी) जारी गर्दै सम्बन्धित निकायलाई आफ्ना डिजिटल प्रणाली तत्काल अद्यावधिक गर्न आग्रह गरेको हो। केन्द्रले जोखिमयुक्त संस्करण प्रयोग भइरहेका प्रणालीको पहिचान गरी सुरक्षा सुनिश्चित गर्न र सम्भावित साइबर आक्रमणबाट जोगिन आवश्यक उपाय अपनाउन सुझाएको छ।
केन्द्रको सूचनाअनुसार पीएचपी ८.५ प्रयोग गरिरहेका प्रणालीलाई कम्तीमा ८.५.१२, पीएचपी ८.४ लाई ८.४.२७, पीएचपी ८.३ लाई ८.३.३६ र पीएचपी ८.२ लाई ८.२.३५ संस्करणमा अद्यावधिक गर्नुपर्नेछ। पीएचपी ८.१ वा सोभन्दा पुराना संस्करणका लागि सुरक्षा सुधार उपलब्ध नभएकाले त्यस्ता प्रणालीलाई समर्थित तथा सुरक्षित संस्करणमा स्थानान्तरण गर्न आग्रह गरिएको छ।

तत्काल अद्यावधिक गर्न सम्भव नभए इन्टरनेटबाट पहुँच गर्न सकिने जोखिमयुक्त सेवाहरूलाई अस्थायी रूपमा अलग राख्न पनि सुझाव दिइएको छ। विशेषगरी सरकारी निकाय, सञ्चारमाध्यम, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक तथा निजी व्यवसायले सञ्चालन गरिरहेका वेबसाइट र सर्भरमा प्रयोग भएको पीएचपी संस्करण जाँच गर्नुपर्ने आवश्यकता देखिएको छ। यद्यपि, नेपालमा यसै कमजोरीका कारण साइबर आक्रमण भएको पुष्टि भएको छैन।
पीएचपी वेबसाइट सञ्चालनका लागि प्रयोग गरिने लोकप्रिय प्रोग्रामिङ भाषा हो। वेबसाइटको पर्दापछाडि काम गर्ने यस भाषाले सर्भरमा आवश्यक सामग्री तयार पारेर प्रयोगकर्ताको ब्राउजरमा पठाउँछ। यसको निःशुल्क उपलब्धता र खुला स्रोत संरचनाका कारण व्यक्तिगत ब्लगदेखि व्यावसायिक पोर्टल, सरकारी वेबसाइट र समाचारमाध्यमसम्म यसको व्यापक प्रयोग हुँदै आएको छ।
डब्लु३टेक्सको तथ्यांकअनुसार प्रोग्रामिङ भाषा पहिचान भएका वेबसाइटमध्ये करिब ७० प्रतिशतमा पीएचपी प्रयोग हुन्छ। त्यस्तै, विश्वका लोकप्रिय वेबसाइट निर्माण प्रणालीमध्ये एक वर्डप्रेस पनि पीएचपीमा आधारित छ।
वेबसाइट सञ्चालनको आधारभूत संरचनामै सुरक्षा कमजोरी देखिनुले डिजिटल सुरक्षाको संवेदनशीलतालाई उजागर गरेको छ। त्यसैले सम्बन्धित निकायले प्रयोगमा रहेको सफ्टवेयरको नियमित परीक्षण, समयमै अद्यावधिक र सुरक्षा निगरानीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। प्रयोगकर्ताले पनि आधिकारिक सूचना र विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मानी साइबर सुरक्षासम्बन्धी सावधानी अपनाउन आवश्यक छ।






