
एआई निर्मित तस्बिर
पोखरा, कार्तिक ७
नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि देशका केही भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। वर्षाको सम्भावनालाई लिएर सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गर्दै विभागले सर्वसाधारणलाई नआत्तिन अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले केही स्थानमा वर्षा हुँदैमा त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार आगामी मंगलबारदेखि वर्षा हुन सक्ने सम्भावना रहे पनि कुन स्थानमा कति मात्रामा र कति समयसम्म पानी पर्छ भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था छैन।
पछिल्लो समय सामाजिक सञ्जालमा लगातार सात दिनसम्म पानी पर्ने भन्दै विभिन्न सूचना फैलिएका छन्। यस्ता अपुष्ट खबरले विशेषगरी कृषि उपज भित्र्याउने तयारीमा रहेका किसानलाई त्रसित बनाएको महर्जनले बताएका छन्।
मौसम प्रणाली परिवर्तनशील हुने भएकाले अनुमानकै आधारमा अनावश्यक चिन्ता लिनुभन्दा आधिकारिक सूचनालाई आधार मान्न उनले आग्रह गरेका छन्। उनका अनुसार नेपालमा आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि सात दिनसम्मको पूर्वानुमानमा अनिश्चितता रहन सक्छ।
आगामी साता हुने वर्षाको अवस्था, सम्भावित प्रभाव र प्रभावित हुन सक्ने क्षेत्रबारे मौसमको विश्लेषणका आधारमा थप सूचना सार्वजनिक गरिने महर्जनले बताएका छन्।
मौसमसम्बन्धी अपुष्ट सूचना सामाजिक सञ्जालमा छिटो फैलिने भएकाले त्यसकै आधारमा निर्णय नगर्न विभागले सचेत गराएको छ। वर्षाको सम्भावनालाई सामान्य रूपमा लिनुका साथै आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी जानकारीका लागि नेपाल मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाका आधिकारिक सूचनालाई मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।






