सारङ्गीका धुनसँगै गुञ्जिँदैछ गन्धर्व संस्कृति, असोज १० गते ‘गन्धर्व गुञ्जन’

-


     तुलसी राम सुवेदी    
     असाेज ३ गते २०८३ मा प्रकाशित


पोखरा, ३ असोज ।
पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न क्षेत्रका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जना कलाकारले प्रस्तुति दिने भएका छन् । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले कार्यक्रममार्फत गन्धर्व समुदायको मौलिक कला, सङ्गीत र सांस्कृतिक परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको जानकारी दिइन् ।

उनका अनुसार कार्यक्रममा गन्धर्व कलाकारहरूले एकल, युगल तथा सामूहिक प्रस्तुति दिनेछन् । वरिष्ठ कलाकार पूर्ण नेपाली, वरिष्ठ कलाकार कृष्णबहादुर गन्धर्व तथा युवा कलाकार कुशल बेलवासेलगायतका कलाकारका विशेष प्रस्तुति पनि कार्यक्रममा रहनेछन् ।

कार्यक्रममा विशेषगरी गन्धर्व समुदायका मौलिक कला तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ । पोखराको बाटुलेचौर, हेम्जा तथा लेखनाथ–बढहरे क्षेत्रका गन्धर्व कलाकारका प्रस्तुति, मौलिक तरबार नृत्य तथा तल्लो गगनगौडाका गन्धर्व कलाकारका मौलिक झ्याउरे र पुराना सांस्कृतिक प्रस्तुति कार्यक्रममा समेटिनेछन् ।

सारङ्गी, मादल र बाँसुरीका धुनसँगै युवालाई लक्षित सारङ्गी वादन तथा गायन प्रस्तुतिसमेत रहनेछ । गन्धर्व समुदायका पुख्र्यौली गीत, घटनाका गीत तथा पछिल्लो भोटेकोसी बाढीपहिरोसँग सम्बन्धित गीतसमेत कार्यक्रममा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जीवन दाहालले कार्यक्रमलाई बृहत् र प्रभावकारी बनाउन तयारी तीव्र पारिएको बताए । गन्धर्व समुदायका मौलिक कला, सङ्गीत र प्रतिभालाई एउटै मञ्चमा ल्याएर संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

“गन्धर्व कलाकारका प्रतिभा र सारङ्गीका धुनसँग पोखराको पनि पहिचान जोडिएको छ,” दाहालले भने, “पोखरा आसपासका कलाकारका हिजो, आज र भोलिका सिर्जना तथा जीवनका कथालाई बाहिर ल्याएर संरक्षण गर्दै देश तथा प्रदेशस्तरमा पु¥याउने प्रयास हो ।”

कार्यक्रममा गन्धर्व जातिका कर्खा, निर्गुण र रत्यौलीलगायतका मौलिक गीतसमेत प्रस्तुत गरिनेछ । सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठको सहजीकरणमा गन्धर्व समुदायका व्यक्तिहरूको सहभागितामा प्यानल डिस्कसनसमेत आयोजना गरिने सदस्य–सचिव दाहालले जानकारी दिए ।

कार्यक्रम दिउँसो १ बजे सुरु भई करिब तीन घण्टासम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क रहने प्रतिष्ठानले जनाएको छ ।

कुलपति सरस्वती प्रतीक्षासहितको नयाँ नेतृत्व आएपछि पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो । कला, सङ्गीत र साहित्यको उद्गमस्थलका रूपमा पोखराको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने उद्देश्यले पहिलो कार्यक्रमका रूपमा सारङ्गी र गन्धर्व संस्कृतिलाई केन्द्रमा राखिएको प्रतिष्ठानले जनाएको छ ।

यसैबीच, पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा प्रतिष्ठानका लागि करिब १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सदस्य–सचिव दाहालका अनुसार उक्त बजेटमध्ये १ करोड ३० लाख रुपैयाँ कार्यक्रम सञ्चालनमा र २० लाख रुपैयाँ कार्यालय सञ्चालनलगायतका कार्यमा खर्च गर्ने योजना छ ।

प्रतिष्ठानले आगामी दिनमा राष्ट्रव्यापी कविता सम्मेलनलगायत कला, साहित्य र संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको जनाएको छ ।