हिमाली पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकार गुरुङ सम्मानित

-


     केन्द्रीय आवाज    
     श्रावण २९ गते २०८३ मा प्रकाशित


२८ श्रावण पोखरा ।

पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित भएका छन् ।

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई नगदसहित सम्मान गरेको हो । संघको पोखरामा आयोजित १८औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनका अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, गण्डकी प्रदेश अध्यक्ष विकास गुरुङ, सचिव मनशान्त घिमिरे तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले गुरुङलाई नगद, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय गुरुङले विशेषगरी गण्डकी प्रदेशका हिमाली क्षेत्र, पर्वतारोहण तथा साहसिक पर्यटनका विषयलाई टेलिभिजन पत्रकारितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउँदै आएका छन् । हिमाली पर्यटन, साहसिक पर्यटन तथा त्यससँग जोडिएका विविध विषयको प्रवद्र्धन र संरक्षणमा उनको पत्रकारिताले उल्लेखनीय योगदान पु¥याएको संघले जनाएको छ ।

सम्मानपछि गुरुङले पर्यटन विकासका लागि नीति, पूर्वाधार र लगानीसँगै पर्यटनका सम्भावना, उपलब्धि र चुनौतीका कथा विश्वसामु पु¥याउने प्रभावकारी सञ्चार पनि उत्तिकै अपरिहार्य रहेको बताए । पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटन संस्था र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउन आवश्यक रहेको उनले औँल्याए ।

उनले आगामी दिनमा पनि गण्डकी प्रदेशको पर्यटन विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका सवाललाई प्राथमिकताका साथ सञ्चारमाध्यममार्फत उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कान्तिपुर टेलिभिजनका संवाददाता एवं नेपाल पत्रकार महासंघ कास्कीका सचिवसमेत रहेका गुरुङ यसअघि विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनले फिटोफ गण्डकीको क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, नेपाल पत्रकार महासंघ कास्कीबाट प्रदान गरिएको टंकदेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९, पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ लगायतका पुरस्कार प्राप्त गरिसकेका छन् ।