बाढीको महासंकट सामना गर्न आठ दलको १० बुँदे साझा संकल्प

-


     केन्द्रीय आवाज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित



सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय, अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक तथा प्राविधिक सहयोगको अपिल
११ भदौ, पोखरा

नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका प्रमुख नदीहरूमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण पुगेको अपूरणीय जनधनको क्षतिप्रति देशका आठ प्रमुख राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सिंहदरबारमा आयोजित विशेष सर्वदलीय बैठकले प्राकृतिक विपद्को यस कठिन घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट भई राष्ट्रिय एकता कायम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
बिहीबार बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नवलपरासीलगायतका जिल्लाहरूमा बाढीपहिरोका कारण भएको ठूलो मानवीय क्षति, भौतिक संरचनाको विनाश र उत्पन्न वातावरणीय संकटप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। बैठकले विपद्मा परी ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचार, पुनरुत्थान, हेरचाह र आवश्यक मनोसामाजिक परामर्शको पूर्ण जिम्मेवारी राज्यले लिनुपर्नेमा आठै दलले एकमतका साथ जोड दिएका छन्।
विपद्को वर्तमान जटिल अवस्था कुनै एक विशेष भूगोल, समुदाय वा सरकारको मात्रै समस्या नभई सिंगो राष्ट्रको साझा अग्निपरीक्षा भएको निष्कर्ष बैठकले निकालेको छ। नागरिकको जीवनरक्षा, सुरक्षा र राष्ट्रिय हितलाई सर्वोच्च प्राथमिकतामा राखेर सबै राजनीतिक शक्तिहरू एकढिक्का भई अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।
बैठकपछि जारी गरिएको संयुक्त अपिलमा तत्काल उद्धार, राहत, पुनस्र्थापना र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि १० बुँदे साझा संकल्प अघि सारिएको छ। संकल्प पत्रमा प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिने, घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्ने, घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा पुनस्र्थापना गर्ने र अवरुद्ध सडक, पुल, विद्युत् तथा सञ्चारजस्ता अत्यावश्यकीय पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्ने विषय उल्लेख छन्।
त्यस्तै, भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक प्रकोपको पूर्वसूचना प्रणालीलाई अत्याधुनिक र सुदृढ बनाउने, जोखिमयुक्त बस्तीको पहिचान गरी स्थानान्तरण गर्ने र सम्पूर्ण राहत कार्यमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
विपद् व्यवस्थापनका कामलाई व्यवस्थित, द्रुत र प्रभावकारी बनाउन सरकार, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजबीच समन्वय गर्न सर्वदलीय संयन्त्र गठन गर्ने महत्त्वपूर्ण निर्णयसमेत गरिएको छ। यो संयन्त्रले राहत र पुनर्निर्माणका हरेक चरणमा सहजीकरण गर्नेछ।
स्थिति सामान्य बनाउन र संरचनाहरूको पुनः निर्माणका लागि दलहरूले अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार र गैरसरकारी संस्थाहरूसँग मानवीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि अपिल गरेका छन्।
संयुक्त अपिलमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंहको ऐक्यबद्धता रहेको छ।