रोटरी जर्नो अवार्ड–२०८३ विजय नेपाललाई, देशभरका सात पत्रकार सम्मानित

-


     केन्द्रीय आवाज    
     असार १२ गते २०८३ मा प्रकाशित


पोखरा, असार १२
पोखरामा क्रियाशील पत्रकार विजय नेपाल रोटरी जर्नो अवार्ड–२०८३ बाट सम्मानित भएका छन ्।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल सहित देशभरका सात जना पत्रकारलाई नगद ५१ हजार रुपैयाँ सहित उक्त अवार्ड प्रदान गरेको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादी स्थायी घर भएका नेपाल विगत दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएर सक्रिय पत्रकारितामा संलग्न छन् । उनी आदर्श समाज दैनिकका कार्यकारी सम्पादक तथा राजधानी दैनिकका पोखरा संवाददाता हुन् ।
उक्त समारोहमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई पत्रकारिता क्षेत्रमा पु¥याएको दीर्घकालीन योगदानको कदर गर्दै एक लाख एक हजार रुपैयाँ राशिको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।
यस वर्षको रोटरी जर्नो अवार्ड प्राप्त गर्ने अन्य पत्रकारहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौंकी उर्वशी बस्न्यात तथा बाँकेकी रूपा गहतराज रहेका छन्।
समारोहमा रोटरी इन्टरनेशनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान र डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले विजेता पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।
रोटरीले सन् २०११ देखि समाजमा सकारात्मक परिवर्तन र जनहितका विषयलाई पत्रकारितामार्फत प्रभावकारी रूपमा उठान गर्ने पत्रकारलाई सम्मानस्वरूप रोटरी जर्नो अवार्ड प्रदान गर्दै आएको छ।
रोटरी जर्नो अवार्ड समितिका अध्यक्ष सुरेश आचार्यका अनुसार यस वर्ष रोटरीका सेवा क्षेत्रलाई आधार बनाएर विभिन्न विधामा देशभरबाट अनलाइन आवेदन आह्वान गरिएको थियो। छनोट प्रक्रियामा ५० जना पत्रकारका २६७ समाचार सामग्री प्रतिस्पर्धामा रहेका थिए।

जुरी प्यानलका संयोजक वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारहरूको व्यावसायिक क्षमता, सामग्रीको गुणस्तर र प्रभावकारिताका आधारमा पूर्ण निष्पक्ष तथा पारदर्शी ढंगले विजेताको छनोट गरिएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि बासुदेव गोल्यानले सम्मानित पत्रकारहरूलाई बधाई दिँदै यस्ता पुरस्कारले मेहनती र उत्कृष्ट पत्रकारलाई थप सिर्जनशील र उत्तरदायी बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले रोटरी विश्वव्यापी सेवामूलक संस्था भएको उल्लेख गर्दै समाजमा संस्थाको सकारात्मक योगदान निरन्तर विस्तार भइरहेको बताए।
कार्यक्रमका अध्यक्ष तथा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले रोटरीले सामाजिक सेवासँगै पत्रकारिताजस्ता व्यावसायिक क्षेत्रको सम्मान र प्रोत्साहनलाई पनि निरन्तरता दिँदै आएको बताए। विश्वभर रोटरीका करिब १२ लाख सदस्य रहेको उल्लेख गर्दै उनले रोटरीले पेसागत मर्यादा, नैतिकता र सेवाभावलाई उच्च प्राथमिकता दिएको बताए ।
उनले भने, “रोटरीले स्वार्थभन्दा माथि उठेर समय, श्रम, सीप र स्रोत समाजको हितमा समर्पित गर्ने संस्कृतिलाई आत्मसात् गरेको छ । यस्तै सेवाभावलाई पत्रकारिता मार्फत समाजमा स्थापित गर्ने व्यक्तित्वहरूको सम्मान गर्नु हाम्रो दायित्व हो।“