पोखरामा यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिप : जलनलाई स्वर्ण

-


     केन्द्रीय आवाज    
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा, १ असार ।
नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा पोखरामा सम्पन्न दोस्रो नेपाल यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा लेखनाथ डोजो मुआथाई क्लबका जलन पुनले स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। पोखरा महानगरपालिकाको खेलकुद विकास समितिद्वारा सञ्चालित दोस्रो पोखरा खेलकुद महोत्सवअन्तर्गत समावेश गरिएको उक्त प्रतियोगिताले युवा खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गरेको छ।

प्रतियोगिताको सबैभन्दा प्रतिस्पर्धात्मक विधा यूथ १८–२३ वर्षअन्तर्गत ६३–६५ केजी तौल समूहमा जलन पुन विजेता बने। स्वर्णसँगै उनले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। सोही समूहमा लेखनाथ डोजोका कुशल नेपाली द्वितीय हुँदै १० हजार रुपैयाँ प्राप्त गर्दा, ओर्ला फिटनेस पोखराका सुमन जिसी र स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका विश्वास पौडेल तृतीय स्थानमा रहँदै जनही ५ हजार रुपैयाँ पुरस्कार हात पारे।

यूथ १४–१५ वर्ष ५०–५३ केजी तौल समूहमा स्ट्रोङ्गेष्ट मुआथाई क्लब वालिङका सुरेश सार्की प्रथम भए भने स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका राजन घर्ति मगर द्वितीय बने। निर्जल गुरुङ र साम्यूल श्रेष्ठ तृतीय स्थानमा रहे। यस समूहका विजेताले १० हजार, द्वितीयले ७ हजार र तृतीयले जनही ४ हजार रुपैयाँ प्राप्त गरे।

त्यसैगरी, यूथ १६–१७ वर्ष ५३–५५ केजी तौल समूहमा आयुष ह्योल्मो प्रथम तथा करण तामाङ द्वितीय भए। ५७–६० केजी समूहमा राहुल कार्की विजेता बन्दा टेरेन्स थापा मगर द्वितीय भए भने भास्कर गुरुङ र अभिषेक श्रेष्ठ तृतीय स्थानमा रहे। यस समूहका विजेताले २० हजार, द्वितीयले १० हजार र तृतीयले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

महिला विधाअन्तर्गत यूथ १६–१७ वर्ष ५०–५३ केजी समूहमा जोरिना राई प्रथम तथा स्नेहा खत्री द्वितीय भइन्। यूथ १८–२३ वर्ष ५०–५३ केजीमा अञ्जन श्रेष्ठ विजेता बन्दा मन्दिप क्षेत्री द्वितीय भए। प्रवेश कुलुङ राई र चिरञ्जिवी छन्त्याल तृतीय स्थानमा रहे। त्यस्तै ५५–५७ केजी समूहमा हेमन्त वोगटी प्रथम, दिप्सन गुरुङ द्वितीय तथा स्वदेश पौडेल र सोनम थापा तृतीय बने।

प्रतियोगितासँगै आयोजित प्रोमोशनल फाइट्समा विभिन्न उमेर समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। जुनियर छात्रा (९–११ वर्ष)मा लिलियन गुरुङ, जुनियर छात्र (९–११ वर्ष)मा डियर थापा मगर, छात्र (१२–१३ वर्ष)मा आयान घर्ति मगर विजेता बने। महिला १८–२३ वर्ष समूहमा निशा थापा, प्रिसा श्रेष्ठ र कृष्मा आचार्यले उपाधि जिते।

जेठ ३० र ३१ गते सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न क्लबका खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको उपस्थिति रहेको थियो। विजेता खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मुआथाई प्रशिक्षक दीपक श्रेष्ठ तथा नेपाल राष्ट्रिय मुआथाई संघका केन्द्रीय उपाध्यक्ष एवं पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारलगायतले मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिताले नेपाली मुआथाई खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। दोस्रो पोखरा खेलकुद महोत्सवअन्तर्गत कुल ११ विधाका खेल समावेश गरिएका छन् भने महोत्सव असार ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।