गीताञ्जली साहित्य परिवारको २७१ औं साधना प्रभात भव्य रूपमा सम्पन्न

-


     तुलसी राम सुवेदी,पोखरा    
     श्रावण ४ गते २०८२ मा प्रकाशित


२०८२ साल, श्रावण ३ गते,रामघाट, पोखरा
पोखराको साहित्यिक यात्रामा २३ वर्षदेखि निरन्तर सक्रिय रहँदै आएको गीताञ्जली साहित्य परिवारले आफ्नो २७१औं साधना प्रभात कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
स्थानीय साहित्यिक विकास र सिर्जनात्मक अभिव्यक्तिको साझा मञ्चका रूपमा स्थापित गीताञ्जली साहित्य परिवारले हरेक महिनाको पहिलो शनिवार नियमित रूपमा रचना वाचन तथा साधना प्रभात कार्यक्रमको आयोजना गर्दै आएको छ ।
यसै क्रममा श्रावण ३ गते गीतामन्दिर परिसरस्थित संस्थाको आफ्नै सभाकक्षमा आयोजित कार्यक्रम अत्यन्त सान्दर्भिक र प्रभावशाली रूपमा सम्पन्न भयो ।
कार्यक्रममा पोखराका अग्रजदेखि नवोदितसम्मका ३२ जना साहित्यकारहरूले कविता, गजल, कथा, हाइकुजस्ता विविध साहित्यिक विधामा आफ्ना मौलिक रचनाहरू प्रस्तुत गरे। यस साहित्यिक यात्रामा निष्ठापूर्वक संलग्न हुँदै आएका सर्जकहरूको उपस्थिति र सिर्जनात्मक उत्सर्जनले कार्यक्रममा विशेष ऊर्जा थपेको देखिन्थ्यो ।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार कोविद शरण उपाध्याय रहनुभएको थियो भने, प्रभात नायकको रूपमा साहित्यकार छन्दमणि त्रिपाठीले भूमिका निर्वाह गर्नुभयो ।
संस्थाका अध्यक्ष भानुभक्त भण्डारी ’क्षितिज’ को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव ढुण्डीराज ज्ञवालीले गर्नुभएको थियो । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ’अल्पायु’ ले प्रस्तुत गर्नुभएको थियो।
गीताञ्जली साहित्य परिवारले साहित्यिक चेतनाको उज्यालो फैलाउने आफ्नो प्रतिबद्धतालाई आगामी दिनहरूमा झनै प्रभावकारी ढंगले अघि बढाउने विश्वास सहभागी साहित्यकारहरूले व्यक्त गरेका थिए।