
१० श्रावण चितवन, सौराह
नेपाल फोटोग्राफर महासंघको प्रथम विस्तारित बैठक चितवनको पर्यटकीय नगरी सौराहमा भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ । देशभरका व्यावसायिक फोटोग्राफरहरूलाई एकीकृत गर्दै संगठनलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजित बैठकले फोटोग्राफी क्षेत्रको व्यावसायिक विकास, संगठन विस्तार तथा फोटोग्राफरहरूको हकहित संरक्षणका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न बैठकको उद्घाटन तुलसीको बिरुवा रोपेर तथा तुलसीमा जल अर्पण गर्दै गरिएको थियो । प्रकृति संरक्षण, धार्मिक तथा सांस्कृतिक मूल्यको सम्मान र व्यावसायिक मर्यादाको प्रवद्र्धन गर्ने सन्देश सहित गरिएको उद्घाटनले वातावरण संरक्षण प्रति महासंघको प्रतिबद्धतालाई समेत उजागर गरेको थियो।
बैठकमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली सम्मका केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश तथा जिल्ला संयोजकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । देशभरबाट सहभागी प्रतिनिधिहरूले संगठनको आगामी कार्यदिशा, व्यावसायिक चुनौती तथा संस्थागत सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको प्रारम्भ मै फोटोग्राफर संघ गण्डकी द्वारा आयोजना गरिने ‘ फोटोग्राफी अवार्ड–२०८३’ को औपचारिक घोषणा गरिएको थियो । अवार्ड संयोजक, फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष तथा महासंघका केन्द्रीय कोषाध्यक्ष जीवन ढुङ्गानाले अवार्डको उद्देश्य, प्रक्रिया र महत्वबारे जानकारी गराएका थिए । त्यसपछि फोटोग्राफर संघ गण्डकीका पदाधिकारी तथा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय नेतृत्वले संयुक्त रूपमा अवार्डको ब्यानर सार्वजनिक गरेका थिए ।

बैठकले महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको आर्थिक प्रतिवेदन तथा खर्च अनुमोदन गर्नुका साथै महाधिवेशनको समग्र समीक्षा गरेको थियो । महासंघका निर्वतमान कोषाध्यक्ष तुलसीराम सुबेदीले प्रथम महाधिवेशनको आय–व्यय विवरण बैठकमा प्रस्तुत गर्दै नवनिर्वाचित केन्द्रीय कोषाध्यक्ष जीवन ढुङ्गानालाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले संगठनलाई समयानुकूल, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न १० विभाग गठन गर्ने कार्यविधिको प्रारूप प्रस्तुत गरेका थिए । बैठकले ती विभागका संयोजकहरू समेत चयन गर्दै संगठनलाई कार्यगत रूपमा थप सशक्त बनाउने निर्णय गरेको छ।
कार्यक्रममा स्थानीय आयोजक संस्था चितवन फोटोग्राफी संघका अध्यक्ष हरिचन्द्र पन्तले देशभरबाट सहभागी भएका केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई स्वागत गर्दै चितवनको आतिथ्य ग्रहण गरेकोमा धन्यवाद व्यक्त गरेका थिए।
बैठक सम्पन्न भएपछि चितवन फोटोग्राफी संघले सहभागीहरूका लागि थारू समुदायको मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सम्मान कार्यक्रम समेत आयोजना गरेको थियो ।

उल्लेखनीय छ, २०७५ सालमा बुटवलमा आयोजित फोटोग्राफरहरूको बृहत् भेलाबाट नेपाल फोटोग्राफर महासंघको स्थापना भएको थियो। महासंघले २०८१ सालमा आधिकारिक मान्यता प्राप्त गरेको हो भने प्रथम राष्ट्रिय महाधिवेशन २०८२ साल पुस १९ गते सम्पन्न भएको थियो। प्रथम विस्तारित बैठकले महासंघलाई संस्थागत रूपमा अझ व्यवस्थित, समावेशी र व्यावसायिक बनाउँदै राष्ट्रिय स्तरमा फोटोग्राफरहरूको साझा छाता संगठनका रूपमा सशक्त ढंगले अघि बढाउने विश्वास व्यक्त गरेको छ ।







