
डुम्रे (तनहुँ)
कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले कृषि विकास कार्यालय तनहुँले सञ्चालन गरेको कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कार्यक्रममार्फत स्थानीय कृषिउपजको ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ र बजारीकरणमा जोड दिइएपछि तनहुँका किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित हुन थालेका छन्।
कार्यालयका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत किरण परियारका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा कृषि उद्यमी, समूह र सहकारीमार्फत उत्पादन भएका बेसार, अदुवा, मह, सातु, तोरीको तेल, मकै, फापर, कोदो, गहुँ तथा चामलको पिठो, प्रशोधित चामल, मकैजन्य परिकार र विभिन्न दलहनलाई आकर्षक प्याकेजिङसहित बजारमा पु¥याउन प्राविधिक तथा आर्थिक सहयोग गरिएको छ।
उनका अनुसार ब्रान्डिङ र प्याकेजिङले स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्नुका साथै किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्। उत्पादन बढाउनु मात्र नभई त्यसमा मूल्य अभिवृद्धि गरी बजारसँग जोड्न सके कृषि व्यवसाय दिगो बन्ने उनले बताए।
कार्यक्रमअन्तर्गत घिरिङ गाउँपालिकाको सुन्धारा महिला समूह, भिमादको सिद्ध बहुउद्देश्यीय सहकारी, शुक्लागण्डकी सातु उद्योग, व्यास–१२ स्थित मित्र राइस मिल तथा आँबुखैरेनीका कृषक समूहले बेसार, सातु, चामल, कोदोको पिठो, मकैजन्य परिकार र दलहनजन्य उत्पादनलाई ब्रान्डिङ र प्याकेजिङ गरी बजारमा उपलब्ध गराइरहेका छन्।
कार्यालयले आगामी आर्थिक वर्षमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै बढी किसान, कृषि उद्यमी र सहकारीलाई समेट्ने तयारी गरेको जनाएको छ। यद्यपि बजार मूल्यको अस्थिरता, प्राकृतिक विपद्, जलवायु परिवर्तन, कृषि बिमाको सीमित पहुँच, भण्डारण तथा चिस्यान केन्द्रको अभाव र उत्पादनको व्यवस्थित बजारीकरण अझै पनि कृषि क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेका छन्।






