
१८ जेठ २०८३, पोखरा।
पर्यटकीय नगरी पोखराको मुटु मानिने फेवातालमा तेस्रो संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ।
फेवा डुंगा व्यवसायी संगठन को आयोजना तथा नेपाल पर्यटन बोर्ड (गण्डकी) को प्रवर्द्धनमा सम्पन्न प्रतियोगिताले ताल किनारलाई उत्साह र रोमाञ्चले भरिपूर्ण बनाएको थियो।
पुरुषतर्फ हर्पण मत्स्य सहकारी संस्थाका कुमार जलारी, गणेश जलारी र कृष्ण जलारी सम्मिलित टोलीले उत्कृष्ट समन्वय प्रदर्शन गर्दै प्रथम स्थान हात पारे। सोही संस्थाकै टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित अर्को टोली द्वितीय बने भने बाराहीघाट समूहका कपिल चौधरी, सुन्दर आले र सुदर्शनले तृतीय स्थान सुरक्षित गरे। विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गरे।
महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाट टोलीले प्रभावशाली प्रदर्शन गर्दै उपाधि जित्यो। तालपारी समूह (उषा गुरुङ, निर्मला गुरुङ र अस्मिता मगर) द्वितीय, जलारी दिदीबहिनी समूह (अन्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी) तृतीय तथा कृष्णकुमारी कँडेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोली सान्त्वनामा सीमित रहे।
प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीहरूले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्। विजेता खेलाडीहरूलाई आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद् का अध्यक्ष तारानाथ पहारी लगायतले पुरस्कार वितरण गरेका थिए।
यसअघि कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले गरेका थिए। उनले फेवातालको पर्यटन प्रवर्द्धनसँगै परम्परागत डुंगाको महत्व उजागर गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए।
कार्यक्रममा वक्ताहरूले पोखरालाई ‘इभेन्ट सिटी’का रूपमा स्थापित गर्न खेल पर्यटनको भूमिका उल्लेखनीय रहेको औंल्याउँदै डुंगा दौड प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे। नेपाल पर्यटन बोर्ड (गण्डकी) का कार्यालय प्रमुख मणीराज लामिछानेले सन्देशमार्फत यस्ता कार्यक्रमको निरन्तरतामा संस्थागत सहयोग रहने प्रतिबद्धता जनाए।
आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले फेवातालको अन्तर्राष्ट्रिय प्रचार–प्रसारसँगै परम्परागत डुंगाको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रम सञ्चारकर्मी दीपेन्द्र पहारी र आयोजक समितिका शिव रुद्र जिसीले संयुक्त रूपमा सञ्चालन गरेका थिए भने समितिका बुद्धिनाथ पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।






