
२०८२ फागुन ९ गते पोखरा
मोफसल कै सर्वािधक लोकप्रिय आहा रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ ।
सहारा क्लब पोखराले आयोजना गरेको २५ औं संस्करण आहा रारा पोखरा गोल्डकप प्रतियोगिताको रजत वर्ष अन्तर्गत शनिबार भएको फाइनल खेलमा सहाराले जावलाखेल युथ क्लबलाई पराजित गरी रजत बर्षलाई अझै गौरवमय बनाएको छ ।
सहाराले १२ वर्षपछि पोखराको मैदानमा यो उपाधि उचाल्दै इतिहास रच्न सफल भएको हो । जावलाखेलको भने यस बर्षको उपाधि उचाल्ने लक्ष्य पुरा हुन सकेन् । फाईनल खेलमा जावलाखेलमाथि सहाराले २–० गोलको जित निकाल्यो । १४ वर्ष अघि पनि फाइनल पुगेको जावलाखेल मनाङ मस्र्याङ्दी क्लबसँग फाईनलमा सोही गोलअन्तरले पराजित भएको थियो ।
आज भएको खेलमा सहाराले पहिलो हाफ र दोस्रो हाफमा गोल गर्दै उपाधि पक्का गरेको हो । फाइनल खेलका म्याद अफ दी सहाराका कप्तान शुशिल लामाको दुवै गोलको लागि महत्वपूर्ण असिष्ट रह्यो । पहिलो गोल दोस्रो कर्नरबाट सम्भव बन्यो । २५ औं मिनेटमा पाएको कर्नरमा शुशिल लामाको कर्नर बललाई मुकुन्दकुमार निउरेले उत्कृष्ठ हेड गर्दै जाली चुनाए । कप्तान लामा र गोलकर्ता निउरे सहाराकै उत्पादन हुन् । निउरे सहारा एकेडेमीमा बसेका खेलाडी हुन् ।
दोस्रो गोल खेलको ७३ औं मिनेटमा उनै कप्तान लामाले क्रस गरेको बल डिफेण्डर टाय डिनियल बादारुले ओभरल्यापमा गएर गरेको हेडिङ पोष्टको दिशा लिएपछि सहाराको जीत सुनिश्चित भएको हो । खेलमा जावलाखेलले पनि केही राम्रा अवसरमा गोल गर्न सकेको थिए ।
रजत जयन्ती मनाइँदा सहाराको भाग्य बलियो देखियो । दोस्रो पटक उपाधि उचाल्ने यात्राको फाईनलमा प्रवेश गर्दा सहाराले दुईपटक सडन डेथको सहारा लिनुपरेको थियो । भने, पहिलो खेलमा पनि पाहुना टोली गार्खा इन्टरनेशनल फुटबल क्लबलाई इन्जुरी समयमा गोल गर्दैै अघि बढेको थियो । त्यसपछि क्वर्टरफाइनलमा नेपाल पुलिस क्लब र सेमिफाईनलमा मनाङ मस्र्याङ्दीलाई सडन डेथमा पराजित गरेको हो ।
जावलाखेल भने आफ्नो पहिलो खेलमा मच्छिन्द्र क्लबलाई, क्वार्टरफाइनलमा चर्च ब्वाईजलाई र सेमिफाइनलमा उज्वेकिस्तानको आभा फुटबल क्लबलाई पराजित गरी फाइनल पुगेको थियो । अन्ततः फाइनलमा आयोजकसँग हार्न पुगेको हो ।
फाइनल खेलमा २ असिस्ट गरेका सहाराका कप्तान सुशिल लामा म्यान अफ दी म्याच चुनिए ।
खेलपछि जावलाखेलको प्रशिक्षक सुनिककुमार श्रेष्ठले स्ट्राइकिङमा समस्या हुँदा फाइनल हार्न पुगेको प्रतिक्रिया दिए । केही पाएका अवसर पनि सदुपयोग हुन नसकेको उनको भनाइ थियो । ‘हाम्रो खेलाडीहरुले स्ट्राइकिकमा ध्यान दिएनन् । अनि विदेशी खेलाडीले सोचेंको जस्तो पनि खेलेनन्,’ उनले भने, ‘सहाराले हाम्रो विदेशी खेलाडीलाई रोकेर राम्रो खेल्यो र उपाधि पनि जित्यो ।’
सहाराका प्रशिक्षक सुनिल रानामगर पनि जावलाखेलको स्ट्राइकरलाई रोकेर खेल्ने रणनीति सफल भएको बताउँछन् । ‘१२ वर्षपछि खोलो फर्किन्छ भने झै भयो । यसका लागि खेलाडीले राम्रो प्रदर्शन गरे । हामीले विपक्षीको विदेशी खेलाडीलाई रोकेर खेल्ने योजना बुनेका थियौं त्यसमा सफल पनि भइयो,’ उनले भने, ‘यो उपाधि सहारा क्लबका लागि निकै महत्वपूर्ण छ । किनकी सहाराले लामो समय भएको थियो उपाधि नजितेको यो पटक जित्दा रजत वर्षमा उपाधिले थप गौरव थपेको छ ।’ १२ वर्ष अघि म्यानेजर भएर उपाधि जितेकोमा यो पटक प्रशिक्षकका रुपमा उपाधि जित्दा व्याक्तिगत रुपमा आफू निकै खुसी रहेको उनको भनाइ थियो ।
उपाधि जितेको सहाराले च्याम्पियसिप ट्रफीसहित नगद १४ लाख १ हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता जावलाखेलले नगद ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्षहरु, सहारा यूके, हङकङ, अष्ट्रेलिया, तमु धिं यूकेका प्रतिनिधिहरुले पुरस्कार प्रदान गरेका थिए ।
माघ २७ गते सुरु भएको प्रतियोगितामा प्रतियोगितामा ‘ए’ डिभिजन लिगका ७, विदेशी ३ र आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता थियो । विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब र प्लानिङ व्वाइज युनाइटेड सहभागी थिए । यस्तै, उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेड पनि प्रतियोगितामा सहभागी भएको थियो ।






