पोखरामा ‘असार १५ रोपाइँ महोत्सव मनाईयो’

-


     तुलसी राम सुवेदी    
     असार १५ गते २०८१ मा प्रकाशित


१५ असार , पोखरा

आज असार १५ मानो रोपेर मुरी उब्जाउने दिन पोखरामा बिभिन्न कार्यक्रम सहित पोखराका बिभिन्न स्थानमा रोपाई महोत्सव सम्पन्न भएका छन ।
हेमजाको देवीस्थान सेवा समाज हेमजाको आयोजनामा हेमजा, नेपाल किसान महासंघ कास्कीको आयोजनामा बिरौटा,राममन्दिर बिरुवा फाँट,काहुंखोला,लेखनाथ लाआचोक लगायतका स्थानहरुमा आआफ्नै तरिकाले रोपाई महोत्सव मनाए ।

महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैँटो फुटाउने, कृषि झाँकी प्रदर्शनी, विद्यालय स्तरीय धान रोपाइँ, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता सम्पन्न भएका थिए ।

महोत्सवले समग्र पोखरामा पर्यटक आवागमन बढाउने उद्धेश्य रहेको आयोजकको दावी रहेको थियो ।
‘नेपाली परम्परागत कृषि पद्धति, हाम्रो मौलिक संस्कृति, असारे भाकाका गीत संगीत, माटोसँग सामिप्यताको अनिभूतिका लागि हिलोमा खेलिने खेललाई जगेर्ना गर्दै नयाँ पुस्तालाई पुस्तान्तरण गर्नका लागि सन्देशमूलक रुपमा सबैलाई समावेश गर्ने जमर्को गरेका आयोजकले बताएका छन ।
परम्परालाई जोगाउँदै कृषिमा आधुनिकीकरण गर्नका लागि मेसिनको प्रयोग गर्दै कृषिमा प्रविधिको पहुँचलाई उपयोग गर्ने शिक्षा दिने कोसिस पनि महोत्सवले गर्ने विश्वास व्यक्त गरिएको छ ।

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।