गण्डकीमा डेटा जर्नालिज्मको एड्भान्स कोर्स सुरु

-


     केन्द्रीय आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित


१६ असोज, पोखरा

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्म (तथ्यांकमा आधारित पत्रकारिता) सम्बन्धी एड्भान्स कोर्स सुरु भएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको प्राविधिक सहयोगमा सञ्चालित तालिम छ दिनसम्म चल्नेछ।

तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले आधारभूत तालिम लिएका पत्रकारको मागअनुसार थप सीप र ज्ञान प्रदान गर्न एड्भान्स कोर्स सञ्चालन गरिएको बताइन्। तथ्य र तथ्यांकमा आधारित पत्रकारिताको विकासमा तालिमले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले सहभागी पत्रकारले भविष्यमा आफ्ना जिल्लाका अन्य पत्रकारलाई समेत प्रशिक्षित गर्न सक्ने अपेक्षा गरिन्।

गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव एवं सूचना अधिकारी हिमा पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै सही र गलत सूचना छुट्याउन चुनौती बढेको बताइन्। उनले पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि यस्ता तालिम आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न पत्रकारलाई आग्रह गरे। महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले तथ्य र तथ्यांकलाई पत्रकारिताको मेरुदण्डको संज्ञा दिँदै पत्रकारिता निरन्तर सिकिरहनुपर्ने पेसा भएको बताए।

प्रशिक्षक अरुण कार्कीले सहभागीको मागअनुसार नयाँ पाठ्यक्रम तयार गरिएको जानकारी दिँदै तथ्यांकमा रहेका रिक्तता पहिचान, तथ्यांकको प्रयोग र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अपनाइएका अभ्यासबारे प्रशिक्षण दिइने बताए।

तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा क्रियाशील १८ जना पत्रकार सहभागी छन्। उद्घाटन समारोह प्रेस रजिष्ट्रार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन कार्यालयका सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गरेका थिए।