पोखरामा रगत अभाव हुन नदिन लायन्स क्लबको रक्तदान, ५५ युनिट संकलन

-


     केन्द्रीय आवाज    
     श्रावण २४ गते २०८३ मा प्रकाशित


पोखरा, २४ साउन
वर्षायामसँगै पोखरामा रगतको अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ।

रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्लबका सदस्य तथा सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब रक्तदान विभाग प्रमुख मिनबहादुर लामिछानेले ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने भावनाबाट प्रेरित हुँदै लायन्स क्लबहरूले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले आवश्यकताका समयमा रगत उपलब्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो।

पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदानजस्तो पुण्य कार्यमा विशेषगरी युवापुस्तालाई प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नियमित रक्तदान गर्ने संस्कारको विकास गर्न सके समाजमा रगतको अभाव कम गर्न सहयोग पुग्ने बताउनुभयो।

क्लब अध्यक्ष सीता काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदाशिव हरिहर मन्दिरका अध्यक्ष नरेन्द्र शर्मा भण्डारी, लायन्स दुर्गाकुमारी आचार्य, लक्ष्मी शर्मा लगायतले रक्तदानको महत्वमाथि प्रकाश पार्नुभएको थियो।