फोटोग्राफर संघ गण्डकीद्वारा राष्ट्रिय फोटो प्रतियोगिता घोषणा

-


     केन्द्रीय आवाज    
     श्रावण ११ गते २०८३ मा प्रकाशित


पोखरा, साउन ११
फोटोग्राफर संघ गण्डकी प्रदेशले आफ्नो आठौँ स्थापना दिवस तथा १८७औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रियस्तरको फोटो प्रतियोगिताको आयोजना गरेको छ । व्यवसायिक फोटोग्राफरहरूलाई प्रोत्साहन गर्दै उनीहरूको सिर्जनशीलता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।
शनिबार चितवनको सौराहामा सम्पन्न नेपाल फोटोग्राफर महासंघको केन्द्रीय विस्तारित बैठकको अवसरमा प्रतियोगिताको आधिकारिक ब्यानर सार्वजनिक गरिएको हो । प्रतियोगिताका संयोजक, जीवन ढुङ्गानाले प्रतियोगिताको उद्देश्य, प्रक्रिया र महत्वबारे जानकारी गराएका थिए । त्यसपछि फोटोग्राफर संघ गण्डकीका पदाधिकारी तथा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय नेतृत्वले संयुक्त रूपमा प्रतियोगिताको ब्यानर सार्वजनिक गरेका थिए ।


प्रतियोगिता दुई मुख्य शीर्षकअन्तर्गत जम्मा सात विधामा सञ्चालन हुनेछ । मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता’ तथा ‘नेचर एण्ड ल्याण्डस्केप’ फोटो प्रतियोगिता रहेका छन ।
‘मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता’ अन्तर्गत ६ विधा समावेश गरिएको छ । जसमा बेस्ट फोटो अवार्ड, ब्राइड एण्ड ग्रुम हेडसट, बेस्ट कलरिङ एण्ड रिटचिङ, बेस्ट मोमेन्ट क्याप्चरिङ, बेस्ट कपल पोजिङ तथा बेस्ट कल्चर रहेका छन्।
प्रतियोगिताको ‘बेस्ट बैवाहिक फोटो अवार्ड’ विजेताले रु. १५,५५५ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य पाँच विधाका विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस प्रतियोगिताका लागि मिराज फोटोका सञ्चालक भक्तबहादुर तामाङ र बृहस तामाङले प्रतियोगितालाई दीर्घकालीन रूपमा निरन्तर सञ्चालन गर्न रु. ३ लाखको अक्षयकोष स्थापना गरेका छन र उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजमार्फत पुरस्कार वितरण गरिने व्यवस्था गरिएको छ ।
यसैगरी, गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले ‘नेचर एण्ड ल्याण्डस्केप’ विधा पनि समावेश गरिएको छ ।
यस विधाअन्तर्गत प्रतियोगितामा सहभागी हुने तस्बिर गण्डकी प्रदेशभित्र खिचिएको हुनुपर्नेछ। यद्यपि, प्रतियोगितामा देशभरका फोटोग्राफरहरूले सहभागिता जनाउन सक्नेछन्।
नेचर एण्ड ल्याण्डस्केप विधाको उत्कृष्ट तस्बिरले रु. १०,००० नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट पाँच तस्बिरलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।


प्रतियोगिताका विजेताहरूलाई भदौ २० गते फोटोग्राफर संघ गण्डकीको आठौँ स्थापना दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहमा पुरस्कार वितरण गरिने संघले जनाएको छ ।
समारोहमा प्रतियोगितामार्फत नेपाली फोटोग्राफी क्षेत्रको व्यावसायिक विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा गण्डकी प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रभावकारी प्रवद्र्धन हुने विश्वास संघले व्यक्त गरेको छ ।