
पोखरा, साउन २
पोखरा फोटोग्राफर संघले आफ्नो ४५औँ स्थापना दिवस विविध सामाजिक तथा संस्थागत कार्यक्रमका साथ मनाउँदै पाँचौँ ‘पोखरा फोटोग्राफी अवार्ड–२०८३’ को औपचारिक घोषणा गरेको छ।
स्थापना दिवसको अवसरमा सनिवार बिहान पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकार चोक मा आयोजित रक्तदान कार्यक्रमबाट दिवसको औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा संघका संरक्षक गणेशलाल श्रेष्ठ पहिलो रक्तदाताका रूपमा सहभागी बनेका थिए। प्रमुख अतिथि तथा कैलास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीले ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा ४७ युनिट रगत संकलन भएको संघले जनाएको छ।

रक्तदान कार्यक्रमको सहयोगी संस्थाका रूपमा कैलास बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लब अफ पोखरा दर्पण रहेका थिए भने नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराले प्राविधिक सहयोग प्रदान गरेको थियो।
रक्तदान कार्यक्रम सम्पन्न भएपछि केक काटेर स्थापना दिवस मनाइएको थियो। सोही अवसरमा पाँचौँ ‘पोखरा फोटोग्राफी अवार्ड–२०८३’ को ब्यानर सार्वजनिक गर्दै अवार्ड कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।

फोटोग्राफी क्षेत्रको व्यावसायिक विकास, दक्ष जनशक्ति उत्पादन तथा सिर्जनशील फोटोग्राफरहरूको सम्मान गर्ने उद्देश्यले २०७५ सालमा स्थापना गरिएको ‘पोखरा फोटोग्राफी अवार्ड’ हाल ६ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार राशिसहित विभिन्न ९ विधामा प्रदान हुँदै आएको छ।
अवार्ड घोषणा तथा स्थापना दिवस कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गाप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका वरिष्ठ अध्यक्ष तुलसीराम सुबेदी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य कमल पौडेल ‘अथक’ लगायतले शुभकामना व्यक्त गर्दै पोखरा फोटोग्राफर संघले चार दशकभन्दा लामो यात्रामा फोटोग्राफी व्यवसायको विकाससँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि उल्लेखनीय योगदान पु¥याएको बताएका थिए।

कार्यक्रममा संघका संरक्षक गणेश छबी, पूर्वअध्यक्षहरू जयन्द्रकुमार राजभण्डारी, घनश्याम पौडेल, राममणि पौडेल, रामचन्द्र पोखरेल, रबिनाथ दाहाल र गुरुप्रसाद तिवारी, लायन्स क्लब अफ पोखरा दर्पणका अध्यक्ष अग्निधर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराकी प्राविधिक यमुना केसी, जितेन्द्रमान शाक्य, तीर्थ श्रेष्ठ, देवानन्द पोखरेल, सुकबहादुर घले, पूर्णकुमारी थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। रक्तदाताहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
अवार्डका प्रमुख ९ विधा
‘पोखरा फोटोग्राफी अवार्ड–२०८३’ अन्तर्गत निम्न विधामा सम्मान प्रदान गरिनेछः
१,लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड
२,‘कैलास फोटोग्राफर अफ द इयर अवार्ड’
३, ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’
४,रामतारा दैनिक जनजीवन फोटोग्राफी अवार्ड
५,मिराज क्रियटिभ फोटोग्राफी अवार्ड (पोट्र्रेट)
६,विवाह भिडियोग्राफी अवार्ड
७,नन्दनारी फोटोग्राफी अवार्ड
८,संस्कृति तथा पर्यटन
९,वातावरण तथा प्रकृति
संघका अध्यक्ष भक्तबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नन्दकला पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीपति पौडेलले गरेका थिए।
संघका अध्यक्ष भक्तबहादुर तामाङका अनुसार विश्व फोटोग्राफी दिवसको अवसर पारेर भदौ ३ गते आयोजित विशेष समारोहमा पाँचौँ पोखरा फोटोग्राफी अवार्ड–२०८३ प्रदान गरिनेछ ।






