
जेठ २०८३, बुधबार,पोखरा
अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसर पारेर कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्नपूर्ण म्याराथनको छैटौं संस्करणमा जुम्लाका धावकहरूले प्रभावशाली प्रदर्शन गर्दै उपाधिमा वर्चस्व कायम गरेका छन्। ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति द्वारा आयोजित प्रतियोगिता यस वर्ष पनि उत्साहजनक रूपमा सम्पन्न भएको हो।
प्रतियोगितामा पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर ले ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान हासिल गरे। अघिल्लो संस्करणमा तेस्रो भएका कुँवरले यस पटक उत्कृष्ट सुधारसहित उपाधि जित्न सफल भए। नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डसहित दोस्रो स्थानमा रहे भने घान्द्रुकका स्थानीय सचिन गुरुङ ४ घण्टा ४९ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा सीमित भए। निरन्तर ६ वर्षको मेहनतपछि तेस्रो स्थान हासिल गर्न सफल भएको गुरुङले बताए।
महिलातर्फ पनि जुम्लाकै खेलाडीहरूको दबदबा रह्यो। मञ्जु रावत ले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। त्यस्तै राज्यलक्ष्मी रावल ६ घण्टा ५६ मिनेट २५ सेकेन्डसहित दोस्रो भइन् भने कल्पना बुढा ७ घण्टा ०० मिनेट ५६ सेकेन्डमा तेस्रो स्थानमा रहिन्। उल्लेखनीय रूपमा महिलातर्फका शीर्ष तीनै धाविका जुम्लाकै रहेका छन्।
यस वर्षको प्रतियोगितामा ६ जना विदेशीसहित ५१ जना धावकहरूले सहभागिता जनाएका थिए। आयोजक समितिका अध्यक्ष ललित गुरुङ का अनुसार विश्वकै उत्कृष्ट पदयात्रा मार्गहरूमध्ये एक अन्नपूर्ण क्षेत्रमा आयोजित यो म्याराथनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
म्याराथनको सुरुवात बिहान ७ बजे अन्नपूर्ण आधार शिविरबाट गरिएको थियो, जसको उद्घाटन गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी ले गरेका थिए। धावकहरूले अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, बेम्बो, सिनुवा, छोम्रोङ, चुइले र किम्रोङ खोला हुँदै घान्द्रुकसम्मको कठिन दूरी पार गरेका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकहरूलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केसी, पूर्वअध्यक्ष युवराज कुँवर तथा आयोजक समितिका अध्यक्ष गुरुङले विजेताहरूलाई सम्मान गरेका थिए।
प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण भूगोलबीच सम्पन्न अन्नपूर्ण म्याराथनले साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्दै नेपाललाई विश्व खेलकुद मानचित्रमा थप सशक्त रूपमा उभ्याउने विश्वास गरिएको छ।






