
पोखरा, असार ३२
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा स्थापित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ सम्मानित भएका छन्।
पुरस्कारअन्तर्गत हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो। गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले सम्मानपत्र, भाङ्ग्रा, घलेक तथा जनही १० हजार रुपैयाँ नगदसहित उनीहरूलाई सम्मान गरे।
कार्यक्रममा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारितामा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्ण गुरुङ र उनकी धर्मपत्नी कर्म गुरुङको वैवाहिक वर्षगाँठको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति पत्रकारितामा उल्लेखनीय योगदान पु¥याउने सञ्चारकर्मीलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।
पुरस्कारदाता कर्म गुरुङले पत्रकारिताको क्षेत्रलाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै यस्तो सम्मानले पत्रकारहरूको मनोबल अझ उकास्ने विश्वास व्यक्त गरिन्।
तमु धिं नेपालका अध्यक्ष तथा फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले पुरस्कारलाई अझ संस्थागत र दीर्घकालीन बनाउन आवश्यक रहेको उल्लेख गर्दै समावेशी पत्रकारिता आजको अपरिहार्य आवश्यकता भएको बताए।
कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पत्रकारितामार्फत आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, पहिचान र मुद्दाहरूलाई समाजमा प्रभावकारी रूपमा उजागर गर्नुपर्नेमा जोड दिए।
पुरस्कार छनोट समितिका संयोजक दिपेन्द्र श्रेष्ठले चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय हितानमगर नयाँ पुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत रहेको बताए। उनले पत्रकार इन्दिरा गुरुङ भाषा पत्रकारितामा निरन्तर समर्पित र लगनशील व्यक्तित्वका रूपमा स्थापित भएको उल्लेख गरे।
सम्मान ग्रहणपछि पत्रकार हितानमगरले पुरस्कारले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले आदिवासी जनजातिको साझा संस्थाको स्थापना क्रममा गरिएको संघर्षको स्मरण गर्दै पत्रकारिता निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुनुपर्ने धारणा राखे।
पत्रकार इन्दिरा गुरुङले भाषा पत्रकारितालाई जीवन्त राख्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध गुरुङले आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, पहिचान तथा समसामयिक विषयमा पत्रकारितामार्फत निरन्तर योगदान दिँदै आएकी छन्।
फोनिज कास्कीकी अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देविका तामाङले गरेकी थिइन्।
यसअघि उक्त पुरस्कारबाट रिता गुरुङ, तिलक पुन, हर्क आले मगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ, एमबी आस्था मगर, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य, रुद्र श्रीष मगर, दिपेन्द्र श्रेष्ठ तथा खेम सारु मगर सम्मानित भइसकेका छन्।
सोही अवसरमा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८३बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर तथा पोखरामा सम्पन्न ११औँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपकी विजेता मेग्मा गुरुङलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो। साथै तमु विद्यार्थी समिति कास्कीका अध्यक्ष सतिश गुरुङ नेतृत्वको कार्यसमितिले पुरस्कारदाता कर्म गुरुङलाई विशेष सम्मान गरेको थियो।






