
पोखरा, २१ जेठ २०८३ (बिहीबार)
राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गरिने भएको छ। मिलेनियम ट्रेक व्यवस्थापन समितिले ट्रेकिङ क्षेत्रको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गर्न लागेको हो। अवार्ड आगामी शनिबार काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ।
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछासम्म फैलिएको ‘मिलेनियम ट्रेक’ सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको पदमार्ग हो। नेपालको पहिलो मध्यपहाडी पदमार्गका रूपमा परिचित यस ट्रेकले हिमाली तथा पहाडी भू–दृश्यको अद्भुत संयोजन प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ।
६ रात ७ दिनमा पूरा गर्न सकिने यस पदमार्ग बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका लागि उपयुक्त मानिन्छ। मार्गमा ऐतिहासिक कोट, दरबार, गुफा लगायत सांस्कृतिक सम्पदाहरू अवस्थित छन् भने चरा पर्यटनका दृष्टिले पनि यो क्षेत्र अत्यन्त महत्वपूर्ण रहेको छ। यहाँ करिब ३०० प्रजातिका चराहरू पाइने तथा नेपालमै दुर्लभ मानिने ‘काँडे भ्याकुर’ समेत प्रशस्त देख्न सकिन्छ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङका अनुसार अवार्ड अन्तर्गत नगद रु १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र प्रदान गरिनेछ। यसका लागि रु १ लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरिएको छ। यसअघि उक्त अवार्ड टान गण्डकी तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बर केसीलाई प्रदान गरिएको थियो।
पत्रकार पौडेल २०६३ सालदेखि रासससँग आबद्ध रहँदै आएका छन्। त्यसअघि पनि उनले विभिन्न सञ्चारमाध्यममार्फत पत्रकारिता गर्दै आएका थिए। पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधिमा सक्रिय रहेका पौडेल हाल पोखरा पर्यटन परिषद्का प्रेस सल्लाहकार समेत हुन्।






