पछिल्लो दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्किए

-


     केन्द्रीय आवाज    
     असाेज ७ गते २०८२ मा प्रकाशित


२०८२ असोज ७ गते पोखरा
‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेका कैदीबन्दी मध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ कैदीबन्दी फरार छन् ।
पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल सड.ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए ।
फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदीबन्दीहरू २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका थिए । कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बालसुधार गृहबाट ९ सय ६३ जना भागेका थिए । प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । दश जना कैदीबन्दीको भने मृत्यु भएको छ ।