ध्वस्त संरचना पुनःनिर्माणमा सहयोग गर्न नागरिकलाई प्रधानमन्त्रीको आग्रह

-


     केन्द्रीय आवाज    
     भाद्र २९ गते २०८२ मा प्रकाशित


पोखरा, भाद्र २९
प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेन–जी आन्दोलन क्रममा ध्वस्त पारिएका संरचनाहरूको पुनःनिर्माणमा नागरिक तहबाटै सहयोग गर्न आग्रह गर्नुभएको छ ।
आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि आयोजित उच्चपदस्थ सरकारी अधिकारीहरूसँगको परिचयात्मक कार्यक्रममा उहाँले, “हामी आफ्नै पहल र आफ्नै जनशक्तिबाट संरचना पुनःनिर्माण गर्न सक्छौँ,” भन्दै नागरिक सहभागिताको आवश्यकता औंल्याउनुभयो ।
उहाँले उदाहरण दिँदै भन्नुभयो, “सानोतिनो भए पनि तराईमा बाँसका भाँटाजोडेर प्रहरी चौकी बनाउन सकिन्छ । सस्तो तर उपयोगी संरचना हामी आफैं बनाउन किन नहुने ? यसरी पनि हामीले क्षमताको परिचय दिनुपर्छ ।”
प्रधानमन्त्री कार्कीले २०७२ सालको भूकम्पपछि रेट्रोफिट गरिएका सिंहदरबार र सर्वोच्च अदालतजस्ता भवनहरू हालै उपयोगमा आउन नपाउँदै नष्ट पारिएकोमा दुःख प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “सिंहदरबार र सर्वोच्च अदालतमा करोडौँ खर्च गरेर पुनःसंरचना गरिएको थियो, तर केही अराजक समूहले ती संरचना जलाएर ध्वस्त पारिदिए । यो केवल सरकारमाथि होइन, राष्ट्रमाथि दिएको चुनौती हो।”
उहाँले यस चुनौतीलाई सबै मिलेर एकताबद्ध भएर सामना गर्नुपर्नेमा जोड दिनुभयो । महाराजगञ्जस्थित प्रहरी वृत्त पुनःनिर्माणका लागि व्यापारीहरूले देखाएको सक्रियतालाई प्रशंसनीय उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “चक्रपथ नजिकैको भाटभटेनी क्षेत्रका व्यापारीहरूले प्रहरी चौकी पुनःनिर्माणको जिम्मा लिनेसम्मको प्रतिबद्धता जनाउनुभएको छ । यसले राज्यको कोष पनि बचत भएको छ, जुन प्रसंसनीय कदम हो ।”
प्रधानमन्त्री कार्कीले आगामी दिनमा आपसी आलोचना–प्रत्यालोचनाभन्दा पर उठेर एकता कायम गर्दै जेन–जी पुस्ताको सोचअनुरूप काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।