भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएकोे आन्दोलन देशभर फैलियो, पोखराका सरकारी कार्यालयहरू र नेताहरूका घर मा आगजनी ।

-


     तुलसी राम सुवेदी    
     भाद्र २४ गते २०८२ मा प्रकाशित


पोखराका सरकारी कार्यालयहरू र नेताहरूका घर मा आगजनी ।
पोखरा, २४ भदौ ।
सन् १९९७ देखि २०१२ सम्म जन्मिएका जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरेको आन्दोलन देशभर फैलिएको छ ।
सोमबार काठमाडौंको बानेश्वरमा १७ जना र इटहरीमा २ जना गरी १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरू मंगलबार राजनीतिक दलका शीर्ष नेताहरूका घर, मन्त्रीहरूका निवास र पार्टी कार्यालयहरूलाई निशाना बनाएर आगजनी, तोडफोड र ढुंगामुढामा उत्रिएका छन् । काठमाडौंबाट सुरु भएको आन्दोलन देशका सातै प्रदेशका मुख्य सहर हुँदै जिल्ला–जिल्लामा फैलिएको छ, जसले गर्दा विभिन्न जिल्लामा कफ्र्यू समेत लगाइएको छ ।
कास्कीमा पनि प्रदर्शन उग्र बन्दै गएको भनी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको बिभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको थियो तर सो आदेशको उल्लङघन गर्दै जेनजी समुहले पोखराका बिभिन्न सरकारी कार्यालय तथा निवासहरुमा तोडफोड तथा आगजनी गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जारी गरेको कफ्र्यु आदेशमा पोखराको करिब सबैजसो बजार क्षेत्रलाई समेटिएको भए पनि जेनजी समूहका यूवाहरुको बाक्लो उपस्थितीमा पोखरा महानगरपालिकाको कार्यालय,प्रदेश सभा, मुख्य मन्त्रिको कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की , कास्की जिल्ला अदालत नगरबिकास कार्यालय , मुख्य मन्त्रिको निवास लगायत सरकारी कार्यालयहरू तथा नेताहरूका निवासहरूलाई लक्षित गर्दै तोडफोड सहित आगजनी गरिदिएका छन ।
सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई रोक्ने प्रयास गरे पनि बल प्रयोग भने गरेको थिएन साथै सरकारी कार्यालयहरुमा प्रर्दशनकारी हरु ले त्यहा रहेका फर्निचर ,कागज पत्रहरु , कम्प्यूटर टिभि साथै सवारी साधनहरु लाई समेत आगजनी गरिदिए ।