फेवातालको सीमाङ्कन सुरु, पहिलो पिलर गाडेर अभियानको थालनी

-


     तुलसीराम सुवेदी     
     जेठ १८ गते २०८२ मा प्रकाशित


१७ जेठ, पोखरा

गण्डकी प्रदेश सरकारले पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको संरक्षणको लागि सीमाङ्कन अभियान सुरु गरेको छ। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाई फ्लड लेबल (एचएफएल) मा पहिलो पिलर गाड्दै अभियानको औपचारिक शुभारम्भ गरे।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि छुट्टाछुट्टै पिलर गाडेर अभियानमा सहभागिता जनाए। मुख्यमन्त्री पाण्डेले भने, “फेवाताल जोगाउने कामको सुरुवात भएको छ,“ भन्दै अत्याधुनिक डीजीपीएस प्रविधि र ड्रोन सर्भे मार्फत तालको सीमाङ्कन गरिएको जानकारी दिए।
सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षे रेकर्ड र विभिन्न समयका नक्साहरूको आधारमा तालको हाई फ्लड लेबल ७९४.९५ मिटर कायम गरिएको छ। सोही आधारमा तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२,४६८ रोपनी ३ पैसा ३ दाम पुगेको बताइएको छ, जुन अघिल्लो तथ्याङ्कभन्दा बढी हो ।

तालको सीमाङ्कनलाई व्यवस्थित गर्न २९ वटा मुख्य आधार बिन्दु तय गरिएको छ, जहाँ ४० सेन्टिमिटर उचाइका पिलरहरू जमिनमुनि गाडिएको छ। साथै, १,०५५ वटा डिजिटल पोलहरू चिनो लगाइएका छन् भने भौतिक पोल गाड्ने कार्य पनि सुरु भइसकेको छ।
तर, अभियान सुरु हुनासाथ केही स्थानियवासीले विरोध जनाएका छन ्। उनीहरूले सीमा निर्धारण गर्दा आफ्नो जग्गा ताल क्षेत्रभित्र पारिएको गुनासो गरेका छन ्।

फेवाताल विगत केही दशकदेखि अतिक्रमण र अनियन्त्रित मानवीय गतिविधिका कारण संकटमा परेको थियो। यो अभियानले संरक्षण र दिगो व्यवस्थापनको दिशामा महत्त्वपूर्ण कदम चालिएको संकेत दिएको छ। सरकारको तर्फबाट यो कार्यमा स्थानिय सरकार, प्रदेश सरकार र समुदायको सहकार्य रहने जनाइएको छ।