टाइगर कपमा नेपाल पुलिस क्लब पहिलोपटक च्याम्पियन,पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी

-


     केन्द्रीय आवाज    
     माघ २० गते २०८१ मा प्रकाशित


माघ २० पोखरा

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ सेटले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।
पुलिसले २५–२३, २५–२१, २०–२५ र २५–२२ को सेटमा गण्डकीलाई हरायो । उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
आज नै महिला तर्फ एपीएफ क्लबलाई आयोजक टाइगर गु्रप अफ नेपालले फाइनलमा हराउँदै च्याम्पियन बनेको छ । महिलातर्फको फाइनलमा ससस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३–२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने ।
महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता गत माघ १२ गतेदेखि सञ्चालन भएको थियो ।