
कार्तिक ४, पोखरा
स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो करिब ३ बजे गोबिन्द पुरीको घरमा सकेट बम विस्फोट भएको थियो । उक्त बम विस्फोटले घरधनी पुरी घाइते भएका थिए । उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि लुम्विनी मेडिकल कलेज पाल्पा लगिएको थियो ।
बम विस्फोट घटनाका सम्बन्धमा प्रहरीले छानबिन गर्दा घरधनी पुरी नै संकास्पद देखिएका कारण चापाकोट नगरपालिका वडा नं. ४ पुरीगाउँका ४५ वर्षीय गोबिन्द पुरीलाई पक्राउ गरेको छ ।
उनी इलाका प्रहरी कार्यालय चापाकोटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान गर्न पुरीलाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेर मुचुल्कालगायतका कार्य गरेको थियो । टोलीले घटनास्थलबाट उच्च विस्फोटक पदार्थ ९ सय ग्राम, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका दुई थान बरामद गरेको छ ।




