जापानमा फस्टाउँदै नेपाली भान्छाघर ।

-


     निलिमा सुवेदी     
     चैत्र १७ गते २०८० मा प्रकाशित


टोकियो (जापान), १७ चैत
जापानमा नेपाली मौलिक खानाको परिकार सहित सञ्चालनमा आएका नेपाली भान्छाघर रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । राजधानी टोकियो ,ओसाका लगायतका स्थानका अधिकांश रेल स्टेशन संगै सञ्चालित नेपाली भन्छाघरहरुमा दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।

जापानमा हाल करिब आठ हजारको हाराहारीमा नेपाली रेष्टुरेन्टहरु सञ्चालनमा रहेको जनाईएको छ । वैदेशिक रोजगारीका सिलसिलामा सुरुवाती दिनमा भारतीय द्वारा सञ्चालित रेष्टुरेन्टमा कुकका रुपमा पुगेका नेपालीहरु पछिल्लो समय आफैँ व्यवसाय सञ्चालन गर्दैआएका छन् ।
नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीका रुपमा समेत रेष्टुरेन्ट खोल्ने र नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा नेपाली रेष्टुरेन्टको सख््या ह्वात्तै बढेको छ । रेष्टुरेन्टमा काम गर्ने नेपाली कुकले मासिक रु १ लाख ५० हजारसम्म कमाउने गरेको गरेको पाईन्छ । नेपाली व्यवसायीले लगानी र सञ्चालनका आधारमा मुनाफा प्राप्त गर्दै आएका छन् ।
रेष्टुरेन्ट व्यवसायीले नेपालबाट कामदार मगाउँदा समेत शुल्क लिने गरेकाले यो व्यवसाय दोहोरो रकम आर्जनको माध्यम बनेको छ । जापानमा रेष्टुरेन्ट व्यवसायमा देशका अरु भागको तुलनामा खासगरी बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाका मानिसहरु बढी संलग्न छन् ।
विदेशमा रहेर पनि नेपाली परिकार खान पाइने भएकाले साँझ र बिहान त्यस्ता नेपाली रेष्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो देख्न पाइन्छ । नेपाली रेष्टुरेन्टमा ८० प्रतिशत ग्राहक भने जापानीज नै हुने गरेको पाइएको छ । नेपाली रेष्टुरेन्टमा भारतीय खाना ‘नान’ र ‘करी’ पनि उत्तिकै लोकप्रिय छ । जापानमा अध्ययनका सिलसिलामा आएका हजारौँ विद्यार्थी पनि आफ्नो पढाइ सकिएपछि रेष्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका गैरआवासीय नेपाली समाजका अभियन्ता विश्व सुवेदी बताउछन् ।


जापानको टोकियोमा होस् वा ओकिनावामा, यहाँ सञ्चालित रेष्टुरेन्ट व्यवसायका माद्यमबाट नेपाली कला, संस्कृति, वेशभूषा, खानपान र भाषाको प्रवद्र्धनमा उलेख्य योगदान पुगेको छ । रेष्टुरेन्टको नाम पनि बाजेको सेकुवा,रातोमाटो, पोखरा, झरना, नमस्ते, एभरेष्ट, गोधुली, मनकामना, लुम्बिनी, निम्तो, चिनो, आँगन, चमेलीजस्ता नेपाली मौलिक नाम राखिएको पाइन्छ । त्यसो त कतिपय जापानीज रेष्टुरेन्टको अग्रभागमा काम गर्ने समेत नेपाली नै रहेका हुन्छन् । हाल जापानमा अध्ययन सहित विभिन्न पेसा व्यवसायमा रहने नेपालीको संख्या करिब १ लाख ६३ हजार रहेको जनाईएको छ ।
दालभात, तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःम जस्ता परिकार तथा ब्यञ्जनले नेपाली खानालाई जापानमा परिचित बनाएको छ । अहिले जापानमा रेष्टुरेन्ट व्यवसायी, कुक, ‘वेटर’मात्र नभई विभिन्न क्षेत्रमा नेपाली खाधान्नका पसलहरु समेत स्थापित रहेका छन ।
टोकियो होस् वा अरु कुनै सहरका रेष्टुरेन्टमा फहराइएको नेपाली झण्डाले नेपालीको रेष्ट्रेन्ट भनेर सहजै अनुमान लगाउन सकिन्छ भने सडक किनारमा पहराईरहेको नेपाली झण्डाले मुलुकको चिनारी र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको पाईन्छ । नेपाली रेष्टुरेन्टमा तयार हुने चिकेन, मटन, छोइला, हल्का पेयपदार्थ जापानी युवायुवतीमाझ लोकप्रिय बन्न पुगेको छ । जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि साँझ–रातिको समय मिलाएर त्यस्ता रेष्टुरेन्टमा काम गर्ने अवसर मिलेको छ ।


जापानमा कुनै पनि कम्पनी खोलेपछि रेष्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न सहज हुने गर्छ । कम्पनीअन्तर्गत अधिकांशले सजिलोका लागि रेष्टुरेन्टलाई नै लिने गरेको पाइएको छ । जापानमा रु ५० लाख ऐन धरौटी राखेपछि कम्पनी खोल्न पाइन्छ । जापानमा लगानी अनुरुप खाना खुवाए बापत रेष्टुरेन्टबाट राम्रै आम्दानी प्राप्त हुने भए पछि नेपालीहरुमा रेष्टुरेन्ट सञ्चालनको मोह बढेको हो । पछिल्लो समय यस व्यवसायमा प्रतिस्पर्धा भएसँगै खानाको गुणस्तर र दररेट भने खुम्चिएको पाइएको छ ।
जापानमा रहेका विदेशीमध्ये छैटौँ ठूलो जनसङ्ख्या नेपाली रहेको तथ्याङ्क छ । जापानमा रहेका नेपालीमा सबैभन्दा बढी विद्यार्थी छन् ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियोे । करिब डेढ सय वर्षअघिदेखि नै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ रहीआएको छ । नेपालको विकासमा सहयोग गर्ने मुलुकमा जापान अग्रस्थानमा पर्छ ।