
काठमाडौँ
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिरको संरक्षण तथा जीर्णोद्धार गर्न विश्व हिन्दु परिषद् नेपालले माग गरेको छ। मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न खोजिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै परिषद्ले ऐतिहासिक धार्मिक सम्पदाको संरक्षण र घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेको हो।
परिषद्अन्तर्गतको मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले प्रेस विज्ञप्ति जारी गर्दै रहिम बजार क्षेत्रमा रहेको उक्त मन्दिर भत्काउने प्रयासलाई धार्मिक तथा सांस्कृतिक सम्पदामाथिको प्रहारका रूपमा व्याख्या गरेको छ। विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा व्यापारिक स्वार्थका लागि ऐतिहासिक धरोहर नष्ट गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
स्थानीय हिन्दु समुदाय तथा नागरिक समाजका अभियन्ताहरूले विरोध जनाएपछि स्थानीय प्रशासनले मन्दिर भत्काउने कार्य रोकेको र उक्त स्थललाई सिल गरी सरकारी निकाय इभाकुई ट्रस्ट प्रपर्टी बोर्डको नियन्त्रणमा राखेको विज्ञप्तिमा उल्लेख छ। परिषद्ले प्रशासनको उक्त कदमलाई प्रारम्भिक रूपमा सकारात्मक माने पनि मन्दिरको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न थप प्रभावकारी कदम आवश्यक रहेको जनाएको छ।
परिषद्ले मन्दिर भत्काउने प्रयासमा संलग्न व्यक्ति तथा जिम्मेवार अधिकारीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न, मन्दिरको पूर्ण जीर्णोद्धार गर्न र यसको ऐतिहासिक तथा धार्मिक महत्त्व सुरक्षित राख्न सम्बन्धित निकायसँग माग गरेको छ।
विभागका राष्ट्रिय अध्यक्ष आचार्यले मन्दिरहरू केवल भौतिक संरचना मात्र नभई इतिहास, संस्कृति, परम्परा र सभ्यताका अमूल्य धरोहर भएको बताउनुभएको छ। ऐतिहासिक धार्मिक स्थलको अस्तित्व मेटाउने प्रयासले धार्मिक स्वतन्त्रता र सांस्कृतिक अधिकारमाथि प्रश्न उठाउने उहाँको भनाइ छ।
विज्ञप्तिमा पाकिस्तानलगायत विभिन्न देशमा हिन्दु मठ–मन्दिर तथा धार्मिक सम्पदामाथि तोडफोड, आगजनी र क्षति पुर्याइएका घटनाप्रति समेत चिन्ता व्यक्त गरिएको छ। धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर्नु र धार्मिक अल्पसङ्ख्यकहरूको अधिकारको सम्मान गर्नु सम्बन्धित सरकारको दायित्व भएको परिषद्ले जनाएको छ।
परिषद्ले पाकिस्तान सरकार, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था तथा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै रामलीला मन्दिरको संरक्षण, पुनःस्थापना र धार्मिक सम्पदाको सुरक्षाका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ। साथै, विश्वभरका हिन्दु समुदायलाई ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि एकजुट भई आवाज उठाउन अपिल गरेको छ।
परिषद्का अनुसार करिब दुई शताब्दी पुरानो रामलीला मन्दिरको संरक्षण गर्नु एउटा धार्मिक स्थल जोगाउनु मात्र नभई ऐतिहासिक विरासत र सांस्कृतिक पहिचानको निरन्तरतासँग जोडिएको विषय हो।






