
पोखरा, असार २१
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीद्वारा स्थापना गरिएको ‘फोटो पत्रकार अक्षयकोष’ लाई वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जित ले नगद रु. ६३ हजार सहयोग प्रदान गरेका छन्। फोटो पत्रकारहरूको पेशागत हित, सुरक्षा तथा कल्याणका लागि स्थापना गरिएको कोषमा उनको योगदानलाई उदाहरणीय सहयोगका रूपमा लिइएको छ।
पोखरामा आयोजित कार्यक्रममा रञ्जितले उक्त रकम एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङ लाई हस्तान्तरण गर्दै फोटो पत्रकारिता केवल समाचार संकलनको माध्यम नभई समाज र इतिहासलाई दस्तावेजीकरण गर्ने महत्वपूर्ण पेशा भएको बताए। उनले पोखराको खेलकुद गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफूले लामो समयदेखि फोटो पत्रकारितामार्फत योगदान दिँदै आएको उल्लेख गर्दै कास्कीका फोटो पत्रकारहरूको हकहितका लागि स्थापित अक्षयकोषमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
उनले द्वन्द्व, विपद् र अन्य विषम परिस्थितिमा समेत अग्रपङ्क्तिमा रहेर इतिहासलाई जीवन्त बनाउने काम फोटो पत्रकारहरूले गर्दै आएको उल्लेख गर्दै उनीहरूको पेशागत सुरक्षा र कल्याणका लागि स्थापित अक्षयकोषमा पोखराका प्रतिष्ठित व्यक्ति, व्यवसायी तथा विभिन्न संघ–संस्थाले समेत उदारतापूर्वक साथ दिनुपर्ने धारणा व्यक्त गरे।
सहयोग ग्रहण गर्दै एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङ ले वरिष्ठ फोटो पत्रकार रञ्जितप्रति आभार व्यक्त गर्दै पोखराको खेलकुद इतिहासलाई तस्बिरमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन उनको योगदान अविस्मरणीय रहेको बताए। उनले अक्षयकोषलाई अझ सशक्त बनाउँदै फोटो पत्रकारहरूको क्षमता विकास, कल्याण र आपत्कालीन सहयोगमा प्रभावकारी रूपमा परिचालन गरिने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै नागरिक अभियन्ता रामबहादुर पौडेल ले पोखराको इतिहास निर्माण र संरक्षणमा फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले २०६२÷६३ को जनआन्दोलन, २०७२ सालको भूकम्प, २०८३ सालका आन्दोलनलगायतका ऐतिहासिक घटनाहरूलाई फोटो पत्रकारहरूले जीवन्त रूपमा अभिलेखीकरण गरेको उल्लेख गर्दै आगामी दिनमा पनि फोटो पत्रकारहरूको हितका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले पोखराको बीच भागबाट बग्ने फिर्के खोला संरक्षणमा अपेक्षाअनुसार काम हुन नसकेको उल्लेख गर्दै नागरिक समाजको खबरदारी अभियानलाई प्रभावकारी बनाउन फोटो पत्रकारहरूको सक्रिय भूमिका आवश्यक रहेको पनि बताए।
यसैबीच, नेपाल फोटो पत्रकार संघ कास्कीले संस्थासँग आबद्ध विभिन्न फोटो पत्रकारहरूले प्राप्त गरेका राष्ट्रिय तथा स्थानीय सम्मानप्रति बधाई ज्ञापन गरेको छ। वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जित एनओसी वेस्ट भिडियोग्राफी अवार्डबाट सम्मानित भएका छन् भने संघका सल्लाहकार कृष्णमणि बराल दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, इन्द्र पौडेल संस्कृति संरक्षण पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। त्यसैगरी, सहसचिव दुर्गा रानामगर पोखरा महानगर युवा परिषद्को युवा पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् भने कार्यसमिति सदस्य सुरेश सुनार विश्वकर्मा समाजबाट सम्मानित भएका छन्। साथै, संस्थाका उपाध्यक्ष राधिका कँडेल सञ्चारिका समूह गण्डकीको अध्यक्षमा निर्वाचित भएको अवसरमा समेत संघले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।






