उत्कृष्ट २० उद्यमीमा पोखराका कमलराज पराजुली

-


     केन्द्रीय आवाज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित


नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने पराजुलीको योजना

काठमाडौं, साउन २६ ।

पोखराका युवा उद्यमी कमलराज पराजुली देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीको सूचीमा पर्न सफल भएका छन्। अमेरिकी दूतावासको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट प्राप्त ८ सयभन्दा बढी आवेदनमध्ये पराजुली उत्कृष्ट २० उद्यमीमा छनोट भएका हुन्।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पराजुलीले काठमाडौंमा आयोजित तीन दिने आवासीय कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रमको अन्तिम चरणमा सहभागी उद्यमीहरूले लगानीकर्ता, व्यवसाय विज्ञ तथा सरोकारवालामाझ आफ्ना व्यावसायिक योजना प्रस्तुत गरेका थिए। सो क्रममा पराजुलीले नेपाली उत्पादनलाई डिजिटल प्रविधिको माध्यमबाट स्वदेशदेखि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने आफ्नो योजना प्रस्तुत गरे।

पराजुली ‘साइनो मार्केटप्लेस’ का व्यवसाय विकास प्रमुख हुन्। नेपालमा उत्पादित वस्तु, हस्तकला तथा स्थानीय उत्पादनलाई डिजिटल बजारसँग जोड्दै आएका उनले साना तथा घरेलु उद्यमीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने अवधारणालाई आफ्नो व्यवसायको प्रमुख लक्ष्य बनाएका छन्।

उनका अनुसार नेपालमा गुणस्तरीय तथा मौलिक उत्पादन गर्ने थुप्रै साना उद्यमी भए पनि उनीहरूका लागि उपयुक्त बजार, ग्राहक सञ्जाल र अन्तर्राष्ट्रिय पहुँच अझै चुनौतीका रूपमा रहेको छ।

“नेपालमा उत्कृष्ट वस्तु उत्पादन गर्ने साना उद्यमीका लागि सही बजारसम्म पुग्नु ठूलो चुनौती हो। साइनोमार्फत यही दूरी कम गर्दै नेपाली उत्पादनलाई विश्व बजारसम्म पु¥याउने साझा बाटो निर्माण गर्न चाहन्छौं,” पराजुलीले भने।

हाल साइनो मार्केटप्लेसले एक सयभन्दा बढी नेपाली उत्पादक तथा हस्तकलाकर्मीलाई बजारसँग जोडेको उनले बताए। डिजिटल प्लेटफर्ममार्फत साना उद्यमीलाई बजार पहुँच, ग्राहक सञ्जाल तथा बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्यले काम भइरहेको उनको भनाइ छ।

पराजुलीले नेपाली हस्तकला तथा स्थानीय उत्पादनका लागि साझा खुद्रा बिक्री केन्द्र स्थापना गर्ने दीर्घकालीन योजना समेत अघि सारेका छन्। उनका अनुसार डिजिटल बजारसँगै भौतिक बिक्री केन्द्रको सञ्जाल विस्तार गर्न सके स्थानीय उत्पादनलाई स्वदेशमै बलियो बजार दिनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रवेशका लागि समेत सहज वातावरण निर्माण गर्न सकिन्छ।

क्यापस्टोन एक्सेलेरेटर कार्यक्रमअन्तर्गत यसअघि नेपालका सातै प्रदेशबाट २ सयभन्दा बढी उद्यमीलाई क्षेत्रीयस्तरमा प्रशिक्षण दिइएको थियो। तीमध्ये उत्कृष्ट प्रदर्शन गरेका उद्यमीहरू अन्तिम चरणका लागि छनोट भएका हुन्।

कार्यक्रममा सहभागी उद्यमीलाई व्यवसाय विस्तार, लगानीका लागि तयारी, निर्यात सम्भावना, डिजिटल बजार, प्रविधिको प्रयोग तथा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। उद्यमीहरूले आफ्ना व्यवसायिक अवधारणालाई थप प्रविधिमैत्री, दिगो र लगानीयोग्य बनाउन विज्ञहरूबाट सुझावसमेत प्राप्त गरेका थिए।

कार्यक्रममा पराजुलीले साइनोको डिजिटल बजार प्रणाली, नेपाली उत्पादनको बजार विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारीका सम्भावनाबारे आफ्नो व्यवसायिक योजना प्रस्तुत गरेका थिए। उनले नेपाली उत्पादनलाई विश्वका प्रमुख सहरसम्म पु¥याउन डिजिटल प्रविधि, बजार सञ्जाल र अन्तर्राष्ट्रिय साझेदारीलाई एकीकृत गर्ने रणनीति अघि सारेका छन्।

कार्यक्रमका क्रममा अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइक हार्करले नवीन सोच र सम्भावना बोकेका उद्यमीमा लगानी तथा सहकार्य बढाएर नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप बलियो बनाउन कार्यक्रमले भूमिका खेल्ने बताए। नयाँ पुस्ताका उद्यमीलाई आवश्यक ज्ञान, सीप, लगानी तथा सञ्जालसँग जोड्नु नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो।

कृषि, सूचना प्रविधि, हस्तकला, सामाजिक उद्यमलगायत विभिन्न क्षेत्रमा सक्रिय उद्यमीहरूको सहभागिता रहेको कार्यक्रम इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यन्त एडभाइजरीको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा अमेरिकी वाणिज्य संघ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभले साझेदारी गरेका थिए।

उद्यमशीलता, प्रविधि र बजार विस्तारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमबाट छनोट भएका २० उद्यमीले आफ्ना व्यवसायलाई राष्ट्रिय सीमाभन्दा बाहिर विस्तार गर्ने अवसर पाएका छन्।

यस उपलब्धिसँगै पोखराका पराजुलीले गण्डकी प्रदेशको उद्यमशीलता क्षेत्रलाई राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्दै नेपाली उत्पादनलाई डिजिटल माध्यमबाट विश्व बजारसम्म पु¥याउने अभियानमा आफ्नो पहिचान स्थापित गरेका छन्। उनको नेतृत्वमा साइनोमार्फत नेपाली साना उद्यमी, हस्तकलाकर्मी र स्थानीय उत्पादकलाई एउटै बजार प्रणालीमा जोड्ने प्रयासले आगामी दिनमा थप गति लिने अपेक्षा गरिएको छ।